काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवं हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा आज (मंगलबार)देखि हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका छन् । सीमित स्रोतसाधन र पूर्वाधारबीच पनि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेका खेलाडीले यसपटक दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन् । राष्ट्रियस्तरका प्रतिस्पर्धीलाई चुनौती दिन शारीरिक अभ्याससँगै खेलकौशल निखार्न व्यस्त खेलाडीहरू प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गर्ने अवसरको प्रतीक्षामा छन् । तर, आवश्यक खेलसामग्री, प्रशिक्षण र पूर्वाधारको अभावले तयारी सहज भने नभएको उनीहरूको अनुभव छ । आजदेखि सुरु हुने खेलहरूको व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको आयोजकले जनाएको छ । सुर्खेतको कर्णाली प्रदेश रंगशालासहित बाँके र बर्दियामा पनि केही खेल सञ्चालन हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । सुर्खेतमा फुटबल, महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबललगायत खेलका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका खेलहरू चरणबद्धरूपमा सञ्चालन गर्दै लगिने आयोजकको तयारी छ । दशौं राष्ट्रिय खेलकुदका कुल ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुँदैछन् । तीमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । कर्णालीका दैलेख, कालीकोट, सल्यान र पश्चिमरुकुम तथा लुम्बिनीका बाँके र बर्दियामा पनि खेल सञ्चालन गरिनेछ । आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनअघि नै सुरु हुने खेलका प्रतिस्पर्धा त्यसअघि नै सम्पन्न हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए)गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् । ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ । वीरेन्द्रनगरमा बृहत् र्यालीदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बृहत् र्याली आयोजना गरिएको छ । प्रतियोगिता औपचारिकरूपमा सुरु भएको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित र्यालीमा करिब तीन हजार जनाको सहभागिता रहेको थियो ।वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको र्याली वीरेन्द्रचोक, गणेशचोक, पुरानो अस्पताल, घण्टाघर र धमलाचोक हुँदै रंगशाला परिसरमा पुगेर समापन भएको थियो । र्यालीमा कर्णालीको मौलिक कला, संस्कृति र परम्परा झल्काउने विभिन्न झाँकी, परम्परागत बाजागाजा तथा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो । र्यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीसहित खेलकुद क्षेत्रका अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरूपमा सुरु भएको सन्देश दिन र्याली आयोजना गरिएको बताउनुभयो । ‘यो प्रतियोगिता औपचारिकरूपमा सुरु भयो भन्ने सन्देश हो,’ उहाँले भन्नुभयो, ‘मंगलबारदेखि खेलहरू सञ्चालन हुनेछन् ।’ प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते गर्ने तयारी छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपालीको एक टोली गरी ११ टोली सहभागी हुनेछन् । कुल ३२ खेलका ३८४ स्पर्धामा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव रवीन्द्र चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ । आजदेखि पुरुष फुटबलका नौ टोलीबीच प्रतिस्पर्धादशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत आजदेखि पुरुष फुटबलका खेल हुनेछन् । सार्वजनिक तालिकाअनुसार पुरुष फुटबल प्रतियोगितामा नौ टोलीले तीन समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा एनपिसी, गण्डकी र कर्णाली रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा एपिएफ, मधेस र सुदूरपश्चिम तथा समूह ‘सी’ मा टिएएफसी, कोशी, बागमती र लुम्बिनी रहेका छन् । समूह चरणका खेल आजदेखि १३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे एनपिसी र कर्णाली आमनेसामने हुँदा दिउँसो साढे ३ बजे मधेसले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । मंसिर ९ गते बिहान ९ बजे टिएएफसी र लुम्बिनी तथा दिउँसो साढे २ बजे कोशी र बागमतीबीच खेल हुनेछ । मंसिर १० गते बिहान ९ बजे कर्णाली र गण्डकी भिड्दा दिउँसो साढे २ बजे एपिएफ र मधेसबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी, मंसिर ११ गते बिहान ९ बजे लुम्बिनी र कोशी तथा दिउँसो साढे २ बजे बागमती र टिएएफसीबीच खेल हुनेछ । मंसिर १२ गते बिहान ९ बजे सुदूरपश्चिम र एपिएफ आमनेसामने हुनेछन् भने दिउँसो साढे २ बजे गण्डकीले एनपिसीसँग खेल्नेछ । समूह चरणको अन्तिम दिन मंसिर १३ गते बिहान ९ बजे टिएएफसी र कोशी तथा दिउँसो साढे २ बजे बागमती र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । तालिकाअनुसार मंसिर १५ गते सेमिफाइनलका दुई खेल सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘सी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भने समूह ‘बी’ र समूह ‘सी’ का विजेताबीच भिडन्त हुनेछ । प्रतियोगिताको तेस्रो स्थानका लागि मंसिर १७ गते खेल हुनेछ । सोही दिन उपाधिका लागि फाइनल प्रतिस्पर्धासमेत आयोजना गरिनेछ । फाइनल जित्ने टोली पुरुष फुटबलतर्फ स्वर्ण पदकको हकदार बन्नेछ । पुरुष फुटबलका खेल सुर्खेत र जुम्लामा सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार आवश्यकताअनुसार खेलतालिकामा परिवर्तन गर्न सकिनेछ । साथै, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै सम्बन्धित टोली खेलस्थलमा उपस्थित भइसक्नुपर्ने व्यवस्था गरिएको छ । महिला क्रिकेट पनि आजदेखिदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट पनि आजदेखि हुँदैछ । आजदेखि १४ गतेसम्म सञ्चालन हुने महिला क्रिकेटमा तीन समूहमा विभाजन गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र कर्णाली प्रदेश छन् । समूह ‘बी’मा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, लुम्बिनी प्रदेश र मधेस प्रदेश छन् । समूह ‘सी’मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुनेछन् । बिहान ९ः३० बजेको खेलमा आर्मी क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा एपिएफ क्लब र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन् । समूह चरणका खेलबाट छनोट हुने टोलीबीच मंसिर १३ गते सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । मंसिर १४ गते दिउँसो १ः१५ बजे उपाधिका निम्ति फाइनल खेल आयोजना गरिनेछ । यी सबै खेल सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपले जनाएको छ ।
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजबाट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






