सुर्खेत । सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पाँच खेल सम्पन्न भएका छन्। सुर्खेतमा तीनवटा खेल सञ्चालन भएका छन् भने बाँके र बर्दियामा एक–एक खेल सम्पन्न भएका छन्। बुधबार सुर्खेतमा महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल भएका छन्। यस्तै, बाँके र बर्दियामा पौडी तथा टेनिसका प्रतियोगिता सञ्चालन भएका छन्। फुटबलमा आर्मी विजयी, कोशी र बागमतीले अंक बाँडे पुरुष फुटबलतर्फ बुधबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश तथा कोशी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। आर्मीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गरेको हो। आर्मीका लागि २३औं मिनेटमा जर्सी नम्बर २१ का भरत खवासले पहिलो गोल गरे। दोस्रो गोल जर्सी नम्बर १० का लाकेन लिम्बुले ५२औं मिनेटमा गरे। खेलको ६४औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर ४ का विकास लिम्बुबाट आत्मघाती गोल भएको थियो। प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेँलो कार्ड पाएका थिए। यस्तै, दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। दुई गोलको अग्रता बनाएको बागमती खेलको अन्तिम समयमा सम्हालिन नसक्दा कोशीले लगातार दुई गोल फर्काउँदै खेल बराबरीमा ल्याएको हो। बागमतीका लागि एलिक श्रेष्ठले खेलको ३६औं र ५४औं मिनेटमा गोल गरेका थिए। कोशीका तर्फबाट ७५औं मिनेटमा मिलन राईले पेनाल्टीमार्फत गोल गरे भने ७८औं मिनेटमा पदम भट्टराईले अर्को गोल थपे। खेलमा कोशी प्रदेशका पदम भट्टराई र सविन घिमिरे तथा बागमती प्रदेशका सञ्जीव अर्यालले पहेँलो कार्ड पाएका थिए। महिला क्रिकेटमा बागमती र कोशी विजयी महिला क्रिकेटतर्फ बुधबार सुदूरपश्चिम र बागमती तथा कोशी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ। टस जितेर बागमतीले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सात विकेट गुमाएर ११२ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ओपनर मनिषा बोहराले ३० रन बनाइन्। खेलको अन्तिमतिर ब्याटिङ गर्न आएकी अनु कडायतले १५ बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित २३ रन बनाइन्। कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५ रनको योगदान दिइन्। त्यस्तै, स्नेहा महराले २२ रन बनाइन्। बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिइन् भने संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट लिए। ११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। बागमतीका लागि ओपनर हेलिषा गुरुङले अविजित ५५ रनको उत्कृष्ट पारी खेलिन्। ५१ बलको सामना गरेकी उनले छ चौका प्रहार गरिन्। त्यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० र सेविका कुमारी यादवले तीन रन बनाइन्। सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए। अविजित ५५ रनको योगदान दिएकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित भइन्। क्रिकेटमा कोशीको पहिलो जित महिला क्रिकेटतर्फको दोस्रो खेलमा कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै कोशी प्रदेशले प्रतियोगितामा पहिलो जित निकालेको छ। उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दबाबमा रहेको कोशीले कर्णालीमाथि सहज जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको योगदानमा निर्धारित २० ओभरमा १२५ रन बनाएको थियो। रुविनाले ५७ बलमा एक छक्का र नौ चौकाको मद्दतमा ६२ रन बनाइन्। कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजवंशीले १० र लकिता राजवंशीले नौ रन बनाए। विमला महला सात र फुलकुमारी राजवंशी छ रनमा अविजित रहे। कर्णालीका लागि रमा बुढाथोकीले दुई तथा रविना बुढामगरले एक विकेट लिइन्। १२६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ७६ रनमा समेटियो। कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन्। त्यस्तै, सोविका शाहीले १२, रमा बुढाथोकीले १०, किरणकुमारी कुँवरले नौ, गंगा खड्काले सात, सोना चन्दले सात, अञ्जु गुरुङले चार, रविना बुढामगरले तीन तथा जयन्ती चन्द र ओपनर रेखा सोनीले एक–एक रन बनाए। कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी लकिता राजवंशीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक ओभर मेडन राख्दै मात्र पाँच रन खर्चिइन्। त्यस्तै, निशा शाह र एलिशा खादियाले दुई–दुई तथा कप्तान रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए। उत्कृष्ट बलिङ गरेकी लकिता राजवंशी प्लेयर अफ द म्याच घोषित भइन्। बास्केटबलमा सुदूरपश्चिम क्वार्टरफाइनलमा दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्ट विधामा सुदूरपश्चिम प्रदेश बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’ को विजेता बन्दै सुदूरपश्चिमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्यो। सुदूरपश्चिमको जितमा सञ्जु घिसिङले १४ अंक योगदान गरिन्। सुदूरपश्चिमले चारै क्वार्टरमा क्रमशः २०, ११, ४ र १२ अंक जोडेको थियो। मधेशले दोस्रो क्वार्टरमा तीन अंक जोडे पनि बाँकी तीन क्वार्टरमा अंक जोड्न सकेन। समूह ‘ए’ को अर्को खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–१९ ले पराजित गरेको छ। नेपाल पुलिसको जितमा दिभा महर्जनले सर्वाधिक २० अंक योगदान गरिन्। पहिलो क्वार्टरमा ८–० ले पछि परेको पुलिसले त्यसपछिका तीनवटै क्वार्टरमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। पुलिसले दोस्रो क्वार्टरमा २०–३, तेस्रोमा १०–५ र चौथोमा १८–३ को स्कोर गरेको थियो। एपीएफ र कर्णालीबीचको खेलपछि समूह ‘ए’ बाट क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ। फुल कोर्टतर्फ बिहीबार एपीएफ र कर्णाली, मधेश प्रदेश र बागमती, कोशी र गण्डकी तथा लुम्बिनी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी, महिला बास्केटबलको थ्री अन थ्री विधामा नेपाल आर्मीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। आर्मीले कोशी प्रदेशलाई १३–८ ले पराजित गरेको हो। आर्मीकी दिब्यान्सी कार्कीले सर्वाधिक ६ अंक जोडिन्। तीन टोली रहेको समूह ‘ए’ को विजेता बन्दै आर्मी क्वार्टरफाइनलमा पुगेको हो। समूह ‘बी’ बाट बागमती प्रदेशले पनि विजेताको हैसियतमा अन्तिम आठमा स्थान बनाएको छ। बागमतीले मधेश प्रदेशलाई ८–३ ले पराजित गर्यो। बागमतीकी आरुषा महर्जनले चार अंक जोडिन्। थ्री अन थ्रीतर्फ बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। बिहीबार फुल कोर्ट र थ्री अन थ्री दुवै विधामा क्वार्टरफाइनलको समीकरण पूरा हुनेछ। पौडीतर्फ बागमतीले जित्यो सर्वाधिक पदक दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेमा सञ्चालन भएको पौडी प्रतियोगितामा बागमती प्रदेशले सर्वाधिक पदक जितेको छ। मंगलबार र बुधबार सम्पन्न प्रतियोगितामा बागमतीले नौ स्वर्ण, चार रजत र छ कास्य गरी कुल १९ पदक जित्दै पदक तालिकाको शीर्ष स्थान हासिल गरेको छ। त्यस्तै, नेपाल पुलिस क्लबले तीन स्वर्ण, सात रजत र आठ कास्य गरी कुल १८ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ। त्रिभुवन आर्मी क्लबले दुई स्वर्ण, आठ रजत र आठ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा रहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले छ स्वर्ण, एक रजत र दुई कास्य गरी कुल नौ पदक जित्दै चौथो स्थान हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई रजत गरी तीन पदक जितेको छ भने कोशी प्रदेशले एक स्वर्ण पदक हात पारेको छ।
दशौं राष्ट्रिय खेलकुदः बुधबार पाँच खेल सम्पन्न

Read Complete Original Article
Published originally on नेपालन्युज





