काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच खेलका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते तय भए पनि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू त्यसअघि नै सञ्चालन हुन लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन्। दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत नगद पुरस्कार दिने व्यवस्था गरिएको छ। यसअघि स्वर्ण पदक विजेताले मात्रै नगद पुरस्कार पाउँदै आएका थिए। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने मंसिर २७ गते प्रतियोगिता समापन गर्ने तालिका छ।
दशौँ राष्ट्रिय खेलकुदका पाँच विधाका प्रतिस्पर्धा आजदेखि सुरु

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






