तनहुँ।तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ। धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन्। डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार नौ हजार ५०० भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन्। सोमबार राति ४२१ भक्तजन जाग्राम बसेर बत्ती बालेका थिए। थापाका अनुसार मन्दिरमा तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौंबाट दुई वटा फूलको डोली ल्याइएको थियो। प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मंसिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ। ती दिन मन्दिरमा डोली चढाउन विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। फूलको डोली चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको अध्यक्ष थापाले बताए। भक्तजनले फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीन पटक परिक्रमा गर्ने गर्छन्। त्यसपछि मन्दिर परिसरका देवलमा डोलीसँगै ल्याइएको तोरण तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र गई पूजाआराधना गर्ने परम्परा छ। सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार पार्ने र मङ्गलबार मन्दिरमा चढाउने चलन छ। मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाआराधना हुने गरेको छ। समुद्री सतहबाट एक हजार २०० मिटर उचाइमा रहेको मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार र लमजुङको राइनासकोटलगायत स्थान तथा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख र मन्दिरको भेटीबाट संकलित ६ लाख गरी २० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो। स्थानीयका अनुसार मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो। किंवदन्तीअनुसार त्यस वर्ष हावाहुरी चलेपछि भोटीनी आमाछोरी मन्दिर रहेको स्थानको एउटा रुखमुनि ओत लागेका थिए। उनीहरू त्यहीँबाट अन्तरध्यान भएपछि उक्त स्थानमा पूजाआराधना सुरु गरिएको स्थानीयवासीको भनाइ छ।
थानीमाई मन्दिरमा ९१ फूलको डोली

Read Complete Original Article
Published originally on नेपालन्युज






