दमौली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ । थानीमाई मन्दिरमा भक्तजनको आकर्षण कति छ भन्ने पछिल्लो कात्तिक महिनाको तथ्याङ्कले पनि देखाउँछ । कात्तिकका दुई मङ्गलबारमा मात्रै यहाँ ९३ वटा फूलको डोली भित्रिएका छन् । तीमध्ये कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजाआजा गरेका थिए । कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले फूलको डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको अध्यक्ष थापाले बताए । त्यसपछि तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएपछि मन्दिरमा भक्तजनको उल्लेख्य चहलपहल देखिएको थियो । चौथो मङ्गलबार भने तिहारका कारण दुई वटामात्रै डोली आएको उनले बताए । थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो । प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार यहाँ विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ । ती महिनाका मङ्गलबार देशका विभिन्न स्थानबाट भक्तजन आफ्नो मनोकामना लिएर मन्दिर पुग्ने गर्छन् । थापाका अनुसार थानीमाई मन्दिरमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण वर्षौंदेखि भक्तजन यहाँ आउने र भाकल पूरा भएपछि पुनः फूलको डोली चढाउन आउने परम्परा छ । यहाँ डोली चढाउने प्रक्रिया पनि आफ्नै मौलिक धार्मिक विधिअनुसार सम्पन्न गरिन्छ । भक्तजनले मन्दिरमा फूलको डोली चढाउनुभन्दा अघिल्लो दिन अर्थात् सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पार्ने गर्छन् । भाकलअनुसार फूल, तोरण र अन्य सामग्रीसहित तयार गरिएको डोली लिएर मङ्गलबार बिहानैदेखि भक्तजन मन्दिर पुग्ने गर्छन् ।
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_Oju6PSYFK0.webp)



