काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जग्गा आफ्नै व्यवस्थापनमा फिर्ता आएको जनाएको छ। त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले सोमबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न निकायले भोगचलन गर्दै आएको उक्त जग्गा अब विश्वविद्यालयले नै व्यवस्थापन गर्ने स्पष्ट पारेको हो। विगतमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सम्झौता, सरकारी निर्देशन वा आफूखुसी उक्त जग्गा प्रयोग गर्दै आएका थिए। पटक-पटक ताकेता गर्दा पनि जग्गा खाली नभएपछि त्रिविले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा २०८३ वैशाख ४ गते ३५ दिने सूचना जारी गरी जग्गा खाली गर्न पत्राचार गरेको थियो। त्रिविका प्रवक्ता नबिन्द्रप्रसाद भण्डारीका अनुसार पत्राचारपछि सम्बन्धित संस्थाहरूले जग्गा फिर्ता गर्न, नवीकरण वा नयाँ सम्झौताका लागि सम्पर्क गरेका छन्। विश्वविद्यालयले भोगचलनका क्रममा निर्माण गरिएका संरचनाहरू क्रमशः हटाउने प्रक्रियासमेत सुरु भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सबै पक्षसँग पत्राचार भइसकेकाले उक्त जमिनहरू त्रिवि स्वयंले व्यवस्थापन गर्ने गरी फिर्ता आएकोमा कुनै दुविधा छैन।’ त्रिविको विवरणअनुसार हाल बीपी कोइराला मेमोरियल प्लानेटोरियम, कृषि बागबानी, खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, ल्याबरोटरी माध्यमिक विद्यालय, आयुर्वेद अनुसन्धान केन्द्र, प्रहरी वृत्त र विभिन्न संघ-संस्थाहरूले उक्त जग्गा प्रयोग गरिरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रयोग गरिरहेको करिब ७८ रोपनी जग्गा भने त्रिवि र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच नयाँ सम्झौताको प्रक्रियामा रहेको छ।
त्रिविको सात सय रोपनी जग्गा फिर्ता, संरचना हटाइने

Read Complete Original Article
Published originally on नेपालन्युज






