काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिति २७ अर्ब ३२ करोड रहेको छ । हाल कायम सञ्चितिले १७.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापारमा निर्यात ५७ प्रतिशतले बढेको छ भने आयातमा ३६.२ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै, चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । शोधनान्तर स्थिति पनि ३ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ बचतमा पुगेको छ । सरकारी वित्ततर्फ समीक्षा अवधिमा सरकारले ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ खर्च गरेको छ । यसैगरी, सरकारको राजस्व परिचालन २ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार पहिलो तीन महिनामा विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २.५ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले वृद्धि भएको छ । वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ । ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
तीन महिनामा मूल्यवृद्धि ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो

Read Complete Original Article
Published originally on नेपालन्युज






