काठमाडौं । रङ्गीचङ्गी फूल, आकर्षक सजावट अनि फूलप्रेमीहरूको चहलपहल कतै नयाँ प्रजातिका गोदावरी फूलले आगन्तुकको ध्यान खिचिरहेका छन् त कतै घर तथा बगैँचा सजाउन मिल्ने मौसमी फूल र सजावटी बिरुवाको किनमेल भइरहेको छ । तिहार नजिकिएसँगै ललितपुरको जावलाखेल खेलमैदान यतिबेला फूलमय बनेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यहाँ १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरिएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु भएको प्रदर्शनीमा फूल हेर्न, किन्न र नयाँ प्रजातिबारे जानकारी लिन सर्वसाधारणको आकर्षण बढ्दो छ । नर्सरी सञ्चालक तथा पुष्प व्यवसायीका लागि भने आफ्ना उत्पादन चिनाउने र व्यापार विस्तार गर्ने अवसर बनेको छ । प्रदर्शनीमा कुल ८६ वटा स्टल रहेका छन् । जसमध्ये ७८ वटा व्यावसायिक, चारवटा अफिसियल, दुईवटा प्रतियोगितात्मक, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल छन । नेपालमै उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसमेत प्रदर्शनीमा राखिएका छन् । गोदावरीसहित सयपत्री, मखमली, मौसमी फूल तथा घरबगैँचा सजाउन मिल्ने आलंकारिक बोटबिरुवा गरी ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिद गर्न सकिन्छ । प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँच मुख्य प्रजातिबीच प्रतियोगितासमेत गराइएको छ । नयाँ प्रजातिका फूल, पुष्पजन्य सामग्री र उत्पादन प्रविधिलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ । तिहार र छठ नजिकिएसँगै फूलको माग र कारोबारसमेत बढेको व्यवसायी बताउँछन् । जावलाखेलको प्रदर्शनीमा उपभोक्ताले आफ्नो बजेटअनुसार ५० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मका फूल तथा बिरुवा खरिद गर्न सक्ने व्यवस्था छ । प्रदर्शनी फूलको किनबेचमा मात्र सीमित छैन । पुष्प व्यवसाय सुरु गर्न चाहने तथा घरबगैँचा सजाउन इच्छुक व्यक्तिलाई फूल तथा बिरुवाको उत्पादन, प्रविधि र व्यवस्थापनसम्बन्धी जानकारीसमेत दिइँदैछ । फूल तथा बिरुवामा लाग्ने रोग र कीराबारे जानकारी दिन बालीरोग विशेषज्ञसहितको प्लान्ट क्लिनिक सञ्चालन गरिएको छ । यहाँ सर्वसाधारणले आफ्ना बिरुवाको स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक प्राविधिक परामर्शसमेत लिन सक्छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यो रिपोर्ट तयार पार्दासम्म प्रदर्शनीमा ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ भने २३ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । आयोजकले प्रदर्शनी अवधिभर ३९ हजारभन्दा बढी दर्शक भित्रिने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ । लगातारको वर्षाका कारण प्रभावित भएपछि निर्धारित पाँचदिने प्रदर्शनीमा थप दुई दिन समयसमेत बढाइएको छ । नेपालमा तिहार, विवाह, सभा–समारोह तथा विभिन्न उत्सवका समयमा फूलको माग उच्च हुने गर्छ । यस वर्षको तिहारमा मात्रै काठमाडौं उपत्यकामा सयपत्री, मखमली, गोदावरी तथा मिश्रित गरी करिब ५१ लाख ८० हजार फूलमाला खपत हुने अनुमान गरिएको छ । बढ्दो मागले नेपाली पुष्प व्यवसायको सम्भावना देखाए पनि व्यवसायीले उत्पादन लागत, गुणस्तरीय बीउ तथा बिरुवाको उपलब्धता, जग्गा व्यवस्थापन, आधुनिक प्रविधि र बजार व्यवस्थापनजस्ता चुनौती सामना गरिरहेका छन । आयातीत फूल तथा प्लास्टिकका कृत्रिम फूलसँगको प्रतिस्पर्धा पनि व्यवसायीका लागि अर्को चुनौती हो ।
तिहार नजिकिँदा जावलाखेलमा फूलै-फूलको रौनक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






