Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तिहारको पहिचान सेलरोटी प्रवर्द्धनमा जुट्दै समुदाय

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको पहिचान सेलरोटी प्रवर्द्धनमा जुट्दै समुदाय
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। ‘आहै ! आख्खुम पाख्खुम्, सेलरोटी चाख्खुम्…’ तिहारको उल्लाससँगै नेपाली घरआँगनमा गुञ्जिने यो भाकाले एउटा मौलिक परिकारको सम्झना गराउँछ। त्यो हो- सेलरोटी। चामलको पिठोबाट तयार पारिने यो परिकार नेपालीका लागि स्वादको विषय मात्र होइन पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति, पारिवारिक आत्मीयता र कृषि जीवनशैलीको प्रतीक पनि हो। तिहारमा घरघरमा सेलरोटी पकाउने, आफन्तलाई कोसेली दिने, दाजुभाइ तथा दिदीबहिनीबीच बाँड्ने र देउसीभैलो खेल्ने परम्पराले यसलाई चाडपर्वको अभिन्न हिस्सा बनाएको छ। दसैँमा मासुका परिकारको विशेष महत्व भएजस्तै तिहारमा सेलरोटीको छुट्टै स्थान छ। चामलको पिठो, घिउ, चिनी र आवश्यक सामग्री मिसाएर तयार पारिने सेलरोटीले चाडपर्वको रौनकसँगै नेपाली भान्सामा मौलिक स्वाद थप्दै आएको छ। नेपाली रैथाने खानाको प्रवर्द्धनमा सक्रिय खाद्य विश्लेषक शारदा ज्ञवाली सेलरोटीलाई चाडपर्वमा खाइने परिकारका रूपमा मात्र नभई कृषि उत्पादन भित्र्याउँदाको खुसीसँग जोडिएको खानाका रूपमा व्याख्या गर्छिन्। उनका अनुसार नेपाली खानपान मौसम, कृषि उत्पादन र सामाजिक संस्कारसँग प्रत्यक्ष सम्बन्धित छ। यही सम्बन्धको एउटा प्रतिनिधि परिकार सेलरोटी हो। पहिले गाउँघरमा बजारका मिठाई तथा अन्य परिकार सहजै उपलब्ध नहुँदा चाडपर्व र विशेष अवसरमा घरमै सेलरोटी पकाउने चलन थियो। विवाह, व्रतबन्ध, पूजा, दसैँ र तिहारमा यसको प्रयोग विशेष हुन्थ्यो। घरका अग्रज महिलाबाट सिकिएको पाककला नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएकाले पनि सेलरोटीको परम्परा जीवित रहेको छ। पछिल्लो समय सेलरोटीको व्यावसायिक उत्पादन र बिक्रीसमेत बढेको छ। होटल, रेस्टुरेन्ट तथा सडक किनारका खाद्य पसलमा वर्षभरि नै सेलरोटी पाइन्छ। तर तिहारमा यसको माग, प्रयोग र सांस्कृतिक महत्व अझ व्यापक हुने गरेको छ। ज्ञवालीका अनुसार सेलरोटीको मौलिक स्वाद जोगाउन परम्परागत सामग्री र पकाउने विधिलाई प्राथमिकता दिनुपर्छ। पछिल्लो समय कतिपयले सुजी, चिउरालगायत सामग्री मिसाएर सेल बनाउने गरेको उल्लेख गर्दै उनले त्यसले परम्परागत स्वाद र पहिचानमा फरक पार्न सक्ने बताइन्। ‘सेलरोटी हाम्रो रैथाने खानाको पहिचान हो। यसको मौलिक स्वरूप र परम्परागत विधि जोगाउँदै प्रवर्द्धन गर्नुपर्छ’, उनले भनिन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेकी तथा अमेरिकाबाट स्वास्थ्य र पोषणसम्बन्धी अध्ययन एवं तालिम प्राप्त ज्ञवाली नेपाली मौलिक खानाको प्रवर्द्धनका लागि विभिन्न समुदायलाई पाककलासम्बन्धी प्रशिक्षण दिँदै आएकी छन्। नेपाली खानाका परिकारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तिनको इतिहास, सामग्री, पकाउने विधि र गुणस्तरको व्यवस्थित अभिलेखीकरण आवश्यक देखिएको छ। पर्यटन तथा आतिथ्य क्षेत्रका जानकारहरू नेपाली खानाको पहिचानलाई संस्थागत गर्न लिखित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिन्छन्। सेफ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा एयरपोर्ट होटलका परामर्शदाता श्याम लामाका अनुसार नेपाली परिकारको तयारी विधि र गुणस्तरसम्बन्धी आधिकारिक अभिलेखको अभाव छ। एउटै परिकार पनि व्यक्ति र क्षेत्रअनुसार फरक तरिकाले बनाइने भएकाले यसको मौलिकता र गुणस्तरमा एकरूपता कायम गर्न कठिन भएको उनले बताए। उनका अनुसार सेलरोटीको सामग्री, पकाउने तरिका, गुणस्तर र पोषण पक्ष समेटेर मापदण्ड तयार गर्न सके यसको व्यावसायिक विस्तार र अन्तरराष्ट्रिय प्रवर्द्धन सहज हुनेछ। सेलरोटी चाडपर्वमा खाँदा पनि स्वास्थ्य पक्षलाई ध्यान दिनुपर्ने उनको सुझाव छ। एउटै तेल पटकपटक प्रयोग गरेर तारिएका तथा अत्यधिक तेलमा पकाइएका परिकारको सेवन कम गर्नुपर्ने उनले बताए। घिउमा पकाइएको सेलरोटी तुलनात्मक रूपमा उपयुक्त विकल्प हुन सक्ने उनको भनाइ छ। नेपालका पहिलो ‘एक्ज्युकेटिभ सेफ’ गोविन्द नरसिंह केसीले पनि सेलरोटीको स्वाद र गुणस्तरमा सामग्रीको छनोट महत्वपूर्ण हुने बताए। उनका अनुसार चिनीको सट्टा खुँदो, सखर वा चाकु प्रयोग गरेर पनि सेल बनाउन सकिन्छ। सुकुमेल, अलैँची, हर्रो र मेथीको धुलोले यसको स्वादमा थप विविधता ल्याउन सक्ने उनले बताए। सकेसम्म टाइचिन चामलबाट बनाइएको सेलरोटी राम्रो हुने उनको अनुभव छ। पर्यटन व्यवसायी राजन सिंखडाले सेलरोटीको ऐतिहासिक र सांस्कृतिक पक्षलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताए। नेपाली समाजमा यसको सुरुआत, चाडपर्वसँगको सम्बन्ध र कृषि उत्पादन भित्र्याउँदाको उत्सवसँग जोडिएको इतिहासको खोजी तथा अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ छ। काठमाडौँको आरुबारीकी कोपिला अधिकारीले आफूले आमाबाट सेलरोटी पकाउन सिकेको बताइन्। तिहारमा सेलरोटी अनिवार्यजस्तै भएकाले नयाँ पुस्तालाई पनि यसको सीप सिकाउनुपर्ने उनको धारणा छ। आफूहरूले छरछिमेक र महिला समूहमा सेलरोटी पकाउन प्रोत्साहन गर्दै आएको उनले बताइन्। यस्ता गतिविधि र प्रतियोगिताले परम्परागत पाककलाको सम्मान गर्नुका साथै युवापुस्तालाई मौलिक खानाप्रति आकर्षित गर्ने उनको विश्वास छ। तेह्रथुमकी सिप्पी खापुङले पनि घरमा विशेष चाडपर्वमा सेलरोटी पकाउँदै आएको बताइन्। उनका अनुसार राम्रो सेल बनाउन घिउ, चिनी, पिठो र आगोको तापक्रम मिलाउनु महत्वपूर्ण हुन्छ। सेलरोटीको महत्व यसको स्वादमा मात्र सीमित छैन। यसले नेपाली समाजको पारिवारिक सम्बन्ध, कृषि परम्परा, चाडपर्व र सामुदायिक सहकार्यलाई समेत प्रतिबिम्बित गर्छ। घरका अग्रजबाट नयाँ पुस्तामा सर्दै आएको यसको पाककला नेपाली सांस्कृतिक सम्पदाको एउटा जीवन्त उदाहरण हो। बदलिँदो खानपान र बजारको विस्तारसँगै मौलिक परिकारको स्वरूप परिवर्तन हुँदै गएको अवस्थामा सेलरोटीको परम्परागत विधि, सामग्री र इतिहासको संरक्षण आवश्यक देखिन्छ। यसको व्यवस्थित अभिलेखीकरण, पाककला प्रशिक्षण, प्रतियोगिता तथा पर्यटनसँगको सम्बन्ध विस्तार गर्न सके सेलरोटीलाई नेपाली खानाको विशिष्ट पहिचानका रूपमा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न सकिने सम्भावना छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
Latest NewsJust now

बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते

बर्दिया । बर्दियाको बढैयातालमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ... ...

रातोपाटी
लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा
Latest NewsJust now

लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा

कास्की । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप १८ जनालाई पक्राउ गरेको छ। पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित... ...

रातोपाटी
‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’
Latest NewsJust now

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’

हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन्। उनीहरूले सोमबार हलमा पुगेर फिल्म ‘पाँच पाण्डव’ हेरेका हुन्। चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन्। हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दु धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन्। ‘पाँच पाण्डव&... ...

नेपालखबर
गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग
Latest NewsJust now

गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरी राज्यका तर्फबाट भ्रम फैलाउने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने तथा राज्यका संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि अस्वीकार्य भएको बताएका छन्। कँडेलले पछिल्लो समय गगन थापालाई लक्षित गरी भइरहेका गतिविधि, मिडिया ट्रायल र सामाजिक सञ्जालमा फैलाइएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play