अमेरिका । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई न्यूयोर्कबाट पक्राउ गरेको छ । अर्का संदिग्धको खोजी न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ । फेयरफिल्ड प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा कार्लोस इड्रोगो-आरियास (Carlos Idrogo-Arias) छन् । अर्का संदिग्ध रिचर्ड गुजमान-गुजमान (Richard Guzman-Guzman) भने फरार छन् । उनी न्यूयोर्क वा न्यू जर्सी क्षेत्रमा हुन सक्ने प्रहरीको अनुमान छ । अमेरिकी मार्शल्सको सहयोगमा फेयरफिल्ड प्रहरीको टोलीले न्यूयोर्क सिटी पुगेर इड्रोगो-आरियासलाई पक्राउ गरेको हो । उनलाई ओहायो ल्याउन सुपुर्दगी प्रक्रिया अघि बढाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुवै संदिग्ध ग्राहक बनेर फेयरफिल्डस्थित एभरेस्ट ज्वेलर्समा प्रवेश गरेका थिए । गहना किन्ने बहाना गरेका उनीहरूले पछि बन्दुक निकालेको र त्यसक्रममा सिन्चुरीसँग संघर्ष भएको प्रहरीको भनाइ छ । गोली लागेर सिन्चुरीको मृत्यु भएपछि संदिग्धहरू पसलबाट बहुमूल्य सामान लिएर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि प्राप्त सवारीसाधनसम्बन्धी सूचना, फ्लक (Flock) निगरानी क्यामेराका विवरण र पसलभित्रको सुरक्षा क्यामेराको फुटेज विश्लेषण गरेर अनुसन्धानकर्ताहरूले दुई संदिग्धको पहिचान गरेका थिए । ५२ वर्षीय सिन्चुरीको हत्या सन् २०२६ अक्टोबर २० मा भएको थियो । दिउँसो करिब १२ बजेर ५४ मिनेटमा गोली चलेको खबर पाएपछि प्रहरी ६६७९ डिक्सी हाइवेस्थित एभरेस्ट ज्वेलर्स पुगेको थियो। प्रहरीले उनलाई पसलभित्र गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनालाई लुटपाटसँग जोडिएको हत्या प्रकरणका रूपमा अनुसन्धान गर्दै आएको छ । घटनापछि अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) फेयरफिल्ड प्रहरीसँग सम्पर्कमा रहेको र एटीएफले पनि अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको थियो । परिवारका अनुसार सिन्चुरी भुटानमा जन्मिएका थिए । सन् १९९२ मा त्यहाँबाट विस्थापित भएको उनको परिवारले नेपालमा करिब २० वर्ष शरणार्थी जीवन बिताएपछि अमेरिकामा पुनर्वास पाएको थियो । सिन्चुरीले फेयरफिल्डमा एभरेस्ट ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उनको हत्याले परिवारसँगै ग्रेटर सिनसिनाटी क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भुटानी समुदायलाई स्तब्ध बनाएको थियो । नेपाली भाषा तथा कला केन्द्रसँग आबद्ध समाजसेवी तारा दाहालले एक जना संदिग्ध पक्राउ परेको खबरले परिवार र समुदायलाई केही राहत मिलेको बताएका छन् । “हाम्रो प्रिय समुदायका सदस्य तथा मित्रको दुःखद हत्यामा संलग्न रहेको आशंका गरिएका व्यक्तिमध्ये एक जना पक्राउ परेको खबरले उत्साह र राहत मिलेको छ । परिवार, साथीभाइ र सम्पूर्ण समुदाय दोषीहरू कानुनी दायरामा आउने आशामा यो खबरको प्रतीक्षामा थिए,” दाहालले भनेका छन् । उनले अर्का संदिग्ध पनि चाँडै पक्राउ पर्ने र अनुसन्धान निष्कर्षमा पुग्ने आशा व्यक्त गरेका छन् । दाहालका अनुसार सिन्चुरीको हत्यापछि ग्रेटर सिनसिनाटी र ओहायोका अन्य व्यवसायीमा पनि असुरक्षाको भावना बढेको छ । केही व्यवसायीले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै पसल खोल्नसमेत हिचकिचाउन थालेको उनको वक्तव्यमा उल्लेख छ । दाहालले अनुसन्धानमा फेयरफिल्ड प्रहरीले गरेको प्रयासप्रति नेपालीभाषी भुटानी समुदायका तर्फबाट धन्यवाद दिएका छन् । स्थानीय, राज्य र संघीय सुरक्षा निकायसँग सहकार्य गर्न समुदाय तयार रहेको पनि उनले बताएका छन् । सिन्चुरीको हत्यापछि परिवार, आफन्त र समुदायका सदस्यले निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन् । अक्टोबर २३ मा आयोजित श्रद्धाञ्जली सभामा सयौँ मानिस सहभागी भएका थिए । सहभागीहरूले सिन्चुरीको सामाजिक योगदानको स्मरण गर्दै न्यायको माग गरेका थिए । एक जना संदिग्ध पक्राउ परेसँगै अनुसन्धानमा प्रगति भए पनि अर्का संदिग्धको खोजी जारी छ । पक्राउ परेका इड्रोगो–आरियासलाई ओहायो ल्याउने प्रक्रिया अघि बढिरहेका बेला पीडित परिवार र समुदायले न्यायको प्रतीक्षा गरिरहेका छन् । स्रोत: Local 12 (WKRC), फेयरफिल्ड प्रहरीसम्बन्धी प्रकाशित बिज्ञाप्ति,स्थानिया भूटानी समुदयसगको कुराकानी, WLWT र FOX19।
तारा सिन्चुरी हत्या प्रकरण: एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



-(1).jpg)


