ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन एकतर्फी सवारी सञ्चालन (वान वे) वा सवारीसाधन निषेधित क्षेत्र (भेहिकल फ्रि जोन) बनाउने दुई विकल्प अघि सारिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ठमेलको ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार, व्यवसायी, घरधनी र स्थानीय बासिन्दाबीच सहमति आवश्यक रहेको बताएका छन् । शुक्रबार ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै उनले स्थानीयस्तरबाट सर्वसम्मत निर्णय भए त्यसलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरी पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताए । ‘ठमेललाई वान वे बनाउने हो वा भेहिकल फ्रि जोन बनाउने हो, त्यसबारे स्थानीयस्तरमा सर्वसम्मत निर्णय गरेर जानकारी गराउनुहोस् । त्यसलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरी आवश्यक सहयोग गर्न तयार छ,’ उनले भने । काफ्लेले ठमेलको व्यावसायिक सञ्चालनसम्बन्धी आचारसंहितामा ट्राफिक व्यवस्थापनका विषय पनि समेट्नुपर्ने आवश्यकता औंल्याए । ट्राफिक व्यवस्थापनमा व्यवसायी, घरधनी, स्थानीय सरकार र प्रहरीको जिम्मेवारी तथा भूमिका स्पष्ट हुनुपर्ने उनको भनाइ छ । स्थानीयको सहमतिमा निर्धारण गरिएका एकतर्फी सडक व्यवस्थालाई कार्यान्वयन गर्न ट्राफिक प्रहरी निरन्तर खटिरहेको उनले जानकारी दिए । पछिल्लो समय ठमेलमा मानिसको चापसँगै सवारीसाधनको संख्या पनि बढेकाले दीर्घकालीन र व्यवस्थित योजना आवश्यक रहेको उनले बताए । उनका अनुसार अव्यवस्थित पार्किङ ठमेलको ट्राफिक समस्याको अर्को प्रमुख कारण हो । व्यवसायी, घरधनी तथा स्थानीयले पार्किङको उचित व्यवस्था गर्नुपर्ने र यसका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गर्नुपर्ने उनले बताए । त्यस्तै, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उल्लेख गर्दै उनले सडक दुर्घटनाबाट कुनै पनि निर्दोष नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने ट्राफिक प्रहरीको प्राथमिकता रहेको बताए । काफ्लेले ठमेलको जेहेड चोकलगायत विभिन्न स्थानमा दिउँसो र व्यस्त समयमा ट्राफिक प्रहरी परिचालन भइरहेको जानकारी दिए । ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति आवश्यक परे स्थानीयको मागअनुसार परिचालन गर्न सकिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यस्तैगरी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वर पौडेलले ठमेललाई नेपालको पर्यटन क्षेत्रको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । उनले ठमेल काठमाडौं पर्यटन क्षेत्रको केन्द्र भएकाले यसको सुरक्षा, व्यवस्थापन र व्यावसायिक गतिविधिलाई व्यवस्थित बनाउनु आवश्यक रहेकोमा जोड दिए । उनले नेपाल आउने पर्यटकमध्ये ठूलो हिस्सा काठमाडौं उपत्यकामै सीमित रहने गरेको अनुभव सुनाउँदै काठमाडौं पर्यटन क्षेत्रको केन्द्र ठमेल रहेको बताए । उनका अनुसार नेपालमा पर्यटन विकासका लागि सम्भावना र पर्यटकको आवागमनका आधारमा निश्चित पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर राज्यले लगानी गर्नुपर्छ। पौडेलले काठमाडौं, सोलुखुम्बु, पोखरा, चितवन, लुम्बिनी, रारा तथा बर्दियालगायतका क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले ७५३ वटै स्थानीय तहलाई पर्यटकीय गन्तव्य बनाउने नाममा जथाभावी लगानी गर्नुभन्दा सम्भावना भएका क्षेत्रलाई केन्द्रित गरेर पर्यटन नीति बनाउनुपर्ने बताए । प्रजिअ पौडेलले ठमेलमा पर्यटन व्यवसायसँगै केही अव्यवस्थित तथा गैरकानुनी गतिविधि पनि बढिरहेकोप्रति चिन्ता व्यक्त गरे । व्यवसाय निष्पक्ष र मर्यादित हुनुपर्ने उल्लेख गर्दै उनले अनुचित तथा गैरकानुनी गतिविधिले ठमेलको पर्यटन छविमा असर पार्न सक्ने बताए । आफू अध्यागमन विभागमा महानिर्देशकका रूपमा कार्यरत रहँदा विदेशी नागरिक संलग्न गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गरी निष्कासन गरिएको अनुभव सुनाउँदै उनले पछिल्लो समय यस्ता घटनामा केही वृद्धि भएको अनुभूति गरेको बताए । उनका अनुसार गैरकानुनी गतिविधिमा संलग्न विदेशी नागरिकमाथि प्रहरीले अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएपछि आवश्यक प्रक्रियामार्फत सम्बन्धित देशमा निष्कासन गर्ने काम भइरहेको छ। उनले ठमेलका एक व्यवसायीले स्वतःस्फूर्त रूपमा करिब एक लाख रुपैयाँ बराबरका २५ वटा कुर्सी सहयोग गरेको स्मरण गर्दै ती कुर्सी अहिले पनि कार्यालयको बैठक कक्षमा प्रयोग भइरहेको बताए । त्यस्तै, ठमेलका विभिन्न कार्यसमिति तथा संस्थाले जिल्ला प्रशासन कार्यालयलाई व्यवस्थित र नमुना कार्यालय बनाउन गरेको सहयोगको पनि उनले प्रशंसा गरे। पौडेलले ठमेलको विकास र व्यवस्थापनका लागि सरकारी निकाय, स्थानीय व्यवसायी तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ठमेलको पर्यटन पहिचान जोगाउन शान्ति सुरक्षा, मर्यादित व्यवसाय र कानुनी शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
ठमेलको ट्राफिक व्यवस्थापनमा दुई विकल्प, ‘वान वे’ वा ‘भेहिकल फ्रि जोन’

Read Complete Original Article
Published originally on पर्दाफास





