काठमाडौं । टिकटकले किशोरकिशोरीले आफ्नो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी दिने गरी ‘फ्यामिली पेयरिङ’ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ । नयाँ सुविधामार्फत अभिभावकले छोराछोरीको स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टमा रुचि र सार्वजनिक पोस्टबारे एकै ठाउँबाट जानकारी पाउन सक्नेछन् ।

टिकटकले सोमबार सार्वजनिक गरेको नयाँ ड्यासबोर्डमा चार विषयलाई प्राथमिकता दिएको छ । यसमा किशोरकिशोरीले दैनिक तथा रातिको समयमा टिकटकमा बिताउने समय, फलोअर र फलो गरिएका एकाउन्टको संख्या, उनीहरूले सम्पर्कमा राखेका तथा ब्लक गरेका एकाउन्ट र सार्वजनिक रूपमा पोस्ट गरेका सामग्रीको विवरण समेटिएको छ ।

स्क्रिन टाइमसम्बन्धी जानकारी ड्यासबोर्डमा सबैभन्दा पहिले देखिनेछ । अभिभावकले किशोरकिशोरीले औसतमा कति समय टिकटक चलाउँछन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन् । टिकटकले किशोरकिशोरीका एकाउन्टमा दैनिक ६० मिनेटको स्क्रिन टाइम सीमा पूर्वनिर्धारित रूपमा राख्दै आएको छ ।

त्यस्तै, अभिभावकले किशोरकिशोरीले फलो गरेका प्रमाणित सामग्री सिर्जनाकर्ताका केही भिडियो पनि हेर्न सक्नेछन् । यसबाट उनीहरू कुन विषय र समुदायमा बढी रुचि राख्छन् भन्ने बुझ्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । टिकटकले परामर्श गरेका ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो सुविधा आवश्यक रहेको बताएका थिए ।

नयाँ सुविधामा किशोरकिशोरीले हरेक साता सार्वजनिक रूपमा पोस्ट गरेका सामग्री र ती पोस्टमा आएका भ्युजको संख्या पनि देखिनेछ । यी विवरण दैनिक रूपमा अद्यावधिक हुनेछन् । अभिभावकले वेब ब्राउजरबाट समेत ड्यासबोर्ड प्रयोग गर्न सक्नेछन् ।

टिकटकले आगामी महिनाहरूमा किशोरकिशोरीले कसलाई सन्देश पठाइरहेका छन् भन्ने जानकारी दिने सुविधा पनि थप्ने योजना बनाएको छ । त्यसैगरी, सम्भावित हानिकारक सामग्री खोज्ने प्रयास गरेको हुन सक्ने अवस्थामा अभिभावकलाई जानकारी दिने अलर्ट प्रणाली पनि विकास भइरहेको कम्पनीले जनाएको छ ।

यस्तो अलर्ट प्रणालीका लागि टिकटकले युवा सुरक्षा तथा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग सहकार्य गरिरहेको छ । यसले सम्भावित जोखिमबारे अभिभावकलाई जानकारी दिनुका साथै किशोरकिशोरीसँग कसरी सहयोगी संवाद सुरु गर्ने भन्ने विषयमा विज्ञहरूको सुझाव पनि उपलब्ध गराउनेछ । तर, यो सुविधा अहिले विकासकै चरणमा छ ।

टिकटकले नयाँ फ्यामिली पेयरिङ सुविधालाई नियन्त्रणमा मात्र केन्द्रित नगरी अभिभावक र किशोरकिशोरीबीच संवाद बढाउने उद्देश्यले तयार पारेको जनाएको छ । कम्पनीले गरेको परामर्शमा ७० प्रतिशतभन्दा बढी अभिभावकले आफ्ना छोराछोरीसँग अनलाइन गतिविधिबारे संवाद सुरु गर्न सहयोग गर्ने उपकरण आवश्यक रहेको बताएका थिए ।

यसैबीच, टिकटकले शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञसँगको परामर्शमा ‘एजुकेटर्स गाइड’ पनि सार्वजनिक गरेको छ । यसमा टिकटकको कार्यप्रणाली, अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया साक्षरताबारे विद्यार्थी तथा परिवारसँग छलफल गर्न शिक्षकलाई सहयोग पुग्ने सामग्री समेटिएको छ ।

टिकटकमा किशोरकिशोरीको गतिविधि अब अभिभावकले हेर्न पाउने, ल्यायो नयाँ ड्यासबोर्ड
Read Complete Original Article
Published originally on आर्थिक न्यूज