काठमाडौं। ब्याटिङका लागि कठिन पिचमा झिनो लक्ष्य पछ्याउँदै चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनको प्लेअफ सम्भावना जीवित राखेको छ। चितवनको जितसँगै पहिलो सिजनको च्याम्पियन जनकपुर भने प्लेअफ दौडबाट बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। जितका लागि चितवनलाई अन्तिमसम्म संघर्ष गर्नुपरेको थियो। छैटौं विकेटका लागि डेविड मालन र कुशल मल्लबीच भएको ३२ रनको साझेदारीले चितवनलाई जितनजिक पुर्यायो। मालनले धैर्यपूर्ण ब्याटिङ गर्दै ३९ बलमा एक चौकासहित अविजित ३५ रन बनाए। कुशलले २५ बलमा एक चौकासहित १५ रन जोडे। चितवनले ३७ रनमै पाँच विकेट गुमाएर नाजुक अवस्थामा पुगेको थियो। कामिल मिसरा १२, अर्जुन साउन शून्य, रवि बोपारा १३, कप्तान सिकन्दर राजा शून्य तथा विवेक यादव ७ रनमा आउट भएका थिए। कुशल १४औँ ओभरमा १५ रनमा आउट भएपछि मालनले टोलीलाई सम्हाले। त्यसपछि चितवनले थप विकेट गुमाएन र १६ बल अगावै लक्ष्य पूरा गर्यो। भिजेको पिचका कारण ब्याटरलाई ठूलो सट खेल्न कठिन भएको थियो। ठूलो सट खेल्ने प्रयास गर्दा दुवै टोलीका ब्याटरले लगातार विकेट गुमाएका थिए। जनकपुरका बलरले पनि किफायती बलिङ गर्दै झिनो लक्ष्य रक्षा गर्ने प्रयास गरेका थिए। जनकपुरका लागि राहुल यादव र ललित राजवंशीले दुई–दुई तथा विशाल सुस्लिङले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो। जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। विशाल सुस्लिङले १५ तथा ओपनर सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। जनकपुरले दोस्रो ओभरमै ओपनर तृतराज दासलाई पाँच रनमा गुमाएको थियो। अनुभवी विदेशी खेलाडी रयान बर्ल, ह्यारी टेक्टर र जिमी निसम पनि सस्तैमा आउट भए। खराब लयमा रहेका अनिल साहको स्थानमा अवसर पाएका सन्तोष कार्कीले पनि प्रभाव जमाउन सकेनन्। अमेरिकी ब्याटर हरमीतले जनकपुरको इनिङ सम्हाल्ने प्रयास गरे पनि डेथ ओभरको पहिलो बलमै कमलसिंह ऐरीबाट क्याच आउट भए। चितवनका बलरले किफायती बलिङसँगै लगातार विकेट लिएर जनकपुरमाथि दबाब बनाए। चितवनका स्पिनरले मात्रै सात विकेट लिए। रञ्जित कुमारले तीन तथा कप्तान सिकन्दर राजा र कामिल मिसराले दुई–दुई विकेट लिए। कमलसिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए। रञ्जितले तीन ओभरमा एक मेडनसहित दुई रन मात्र खर्चिए। सिकन्दरले चार ओभरमा दुई मेडनसहित १० तथा कुशलले दुई ओभरमा पाँच रन मात्र दिए। जितसँगै चितवनले ६ खेलबाट सात अंक जोडेको छ। सात खेलबाट चार अंकमा सीमित जनकपुर लगातार दोस्रो सिजन प्लेअफमा पुग्न असफल भएको छ। एनपिएलमा शनिवार लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच एक खेल हुनेछ। दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्नेछन्। – न्युज एजेन्सी नेपाल
जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



-ssss.jpg)


