टोकियो । जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो।जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा टोकियोको मुख्य उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई) २.९ प्रतिशत बढेको हो। अक्टोबरमा यस्तो वृद्धि २.६ प्रतिशत थियो। मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा लागत वृद्धि हुनु, जापानी येन कमजोर हुनुले आयात महँगिनु तथा कम्पनीहरूले बढ्दो उत्पादन लागत उपभोक्तामाथि सार्नु मूल्यवृद्धिका प्रमुख कारण रहेको बताइएको छ। सर्वेक्षणमा समेटिएका १० प्रमुख वस्तु तथा सेवा समूहमध्ये नौवटामा अघिल्लो वर्षको तुलनामा मूल्य वृद्धि भएको छ। विशेषगरी विद्युत्, ग्यास र पानीलगायतका उपयोगिता सेवाअन्तर्गत विद्युत् महसुल ९.५ प्रतिशत र सहरमा प्रयोग हुने ग्यासको शुल्क १३.७ प्रतिशतले बढेको छ। कोर उपभोक्ता मूल्य सूचकांकमा ताजा खाद्यवस्तुको मूल्य समावेश गरिँदैन। टोकियोको मुद्रास्फीति दरलाई जापानभरको मूल्यवृद्धिको प्रवृत्ति बुझ्ने महत्त्वपूर्ण सूचकका रूपमा लिइन्छ। नोभेम्बरमा मुद्रास्फीति लगातार तेस्रो महिनासम्म जापानको केन्द्रीय बैंक (बैंक अफ जापान) ले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ। हाल १.२५ प्रतिशत रहेको प्रमुख ब्याजदरमा थप वृद्धि हुन सक्ने संकेत बैंक अफ जापानले गरिसकेको छ। मुद्रास्फीति अनुमानभन्दा बढी बढ्ने जोखिमका बिच आगामी डिसेम्बर १७ र १८ मा हुने मौद्रिक नीतिसम्बन्धी बैठकमा ब्याजदर बढाउने सम्भावनालाई बजारले चासोका साथ हेरिरहेको छ।
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






