काठमाडौं । जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियामा गरिएको अनुसन्धानले अस्वस्थ खानपान र बालबालिकाको मानसिक स्वास्थ्य तथा शैक्षिक प्रदर्शनबिच सम्बन्ध रहेको देखाएको हो। अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त निष्कर्ष अस्ट्रेलियामा गरिएका १७ वटा अध्ययनको व्यवस्थित समीक्षामा आधारित छ। ‘करन्ट न्युट्रिसन रिपोट्र्स’ नामको वैज्ञानिक जर्नलमा प्रकाशित उक्त समीक्षाले अत्यधिक ऊर्जा दिने तर पोषणतत्त्व कम भएका खाद्य पदार्थ तथा चिनीजन्य पेय पदार्थको सेवनले बालबालिकाको मानसिक स्वास्थ्य, समग्र कल्याण र शैक्षिक नतिजामा नकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ। अनुसन्धानका अनुसार जंक फुड तथा चिनीजन्य पेय पदार्थको बढी सेवन बालबालिकाको मानसिक स्वास्थ्य र विद्यालयमा उनीहरूको शैक्षिक प्रदर्शनसँग सम्बन्धित छ। बाल्यकाल र किशोरावस्था शारीरिक तथा मानसिक विकासका महत्त्वपूर्ण चरण भएकाले यस समयमा सन्तुलित र पोषणयुक्त आहार आवश्यक हुने अध्ययनले औँल्याएको छ। यसविपरीत फलफूल, तरकारी, साबुत अन्न, समुद्री खाद्य पदार्थ, गेडागुडी तथा दुग्धजन्य पदार्थ समावेश भएको सन्तुलित आहारले बालबालिकाको वृद्धि र विकासमा सहयोग गर्ने अनुसन्धानले जनाएको छ। यस्ता खाद्य पदार्थमा पाइने आवश्यक भिटामिन तथा खनिजले बालबालिकाको शारीरिक विकास, मस्तिष्कको कार्यक्षमता र समग्र स्वास्थ्यलाई सहयोग गर्ने अध्ययनमा उल्लेख छ। अध्ययनका प्रमुख लेखक तथा फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्ता जेगेये अबेबे अबिटेवले बालबालिकामा सानै उमेरदेखि स्वस्थ खानपानको बानी विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अतिरिक्त चिनी, नुन, स्याचुरेटेड फ्याट, रासायनिक पदार्थ तथा संरक्षक तत्त्व बढी भएका जंक फुडको सेवन सीमित गर्न आवश्यक छ। बाल्यकालमै स्वस्थ खानपानको बानी विकास गर्न सके त्यसले दीर्घकालीन स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउन सक्ने जानकारी उनले दिएका छन्। अनुसन्धानकर्ताहरूले बालबालिका तथा किशोरकिशोरीको पोषण अवस्था सुधार गर्न लक्षित आहारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। साथै विद्यालय तथा समुदायमा पोषणसम्बन्धी शिक्षा विस्तार गर्न र स्वस्थ खाद्य पदार्थको मूल्यलाई सर्वसाधारणको पहुँचमा पुर्याउन आवश्यक रहेको उनीहरूले बताएका छन्। विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले पनि पर्याप्त पोषणयुक्त खाना प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने अनुसन्धानकर्ताहरूको जोड छ। स्वस्थ खाद्य पदार्थको उपलब्धता र पहुँच सहज बनाउनुका साथै पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सके बालबालिकाको खानपानमा सुधार ल्याउन सकिने सुझाव उनीहरूले दिएका छन्। अनुसन्धानले बाल्यकालमा अपनाइने खानपानको बानी तत्कालीन स्वास्थ्यमा मात्र सीमित नभई भविष्यको शारीरिक तथा मानसिक स्वास्थ्यसँग समेत जोडिएको तथ्य उजागर गरेको छ। त्यसैले बालबालिकालाई सानै उमेरदेखि पोषणयुक्त खाना खाने बानी बसाल्न र जंक फुडको सेवन नियन्त्रण गर्न आवश्यक रहेको तथ्य अध्ययनले औँल्याएको छ।
जंक फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर : नयाँ अध्ययन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





