नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे । छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै उनले ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको बताए । वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुने उनले बताए । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता तथा अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने थापाले उल्लेख गरे । उनले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामना गरेका छन्। साथै, छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्दै उनले सम्पूर्ण नेपालीमा छठ पर्वको शुभकामना व्यक्त गरे ।
छठ पर्वको शुभकामना दिँदै गगन थापाले भने– यस पर्वले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ

Read Complete Original Article
Published originally on पर्दाफास






