जनकपुर । अस्ताउँदो सूर्यलाई अर्घ दिँदा भक्तजनका हात जोडिएका थिए । आँखामा श्रद्धा र मनमा परिवारको सुख, शान्ति तथा समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो लागेको थियो । जलाशयमा उभिएर व्रतालुहरू सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप र बत्तीले झिलिमिली थिए भने लोकगीतका मधुर धुनसँगै जनकपुरधामका पोखरीहरू छठमय बनेका थिए । तर प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध दर्शाउने छठ पर्व सम्पन्न भएको केही बेरमै ती घाट र पोखरीहरू फोहोरको थुप्रोले भरिएका छन् । जहाँ केही समयअघि भक्तजनहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ दिइरहेका थिए, त्यहीँ अहिले पूजामा प्रयोग गरिएका सामग्री, फलफूलका अवशेष, प्लास्टिकका झोला, दियो, बत्ती, घैला र अन्य फोहोर छरिएका छन् । पर्व सकिएपछि भक्तजन घर फर्किए पनि उनीहरूले छाडेका फोहोर भने पोखरी र घाटमै छन् । यो दृश्य फोहोर व्यवस्थापनको समस्या मात्र होइन, प्रकृतिप्रतिको हाम्रो व्यवहार, धार्मिक आस्थाको वास्तविक अर्थ र सामाजिक जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न पनि हो । प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको छठ पर्वमा पोखरी, ताल, नदी तथा जलाशयको किनारमा उभिएर जल र सूर्यलाई साक्षी राख्दै सूर्यदेवको आराधना गरिन्छ । पृथ्वीमा जीवन सम्भव बनाउने सूर्यप्रति कृतज्ञता व्यक्त गरिन्छ । छठ पर्वमा प्रयोग गरिने अधिकांश सामग्री पनि प्रकृतिबाटै प्राप्त हुन्छन् । माटोका घैला, दियो, केराका पात, उखु, नरिवल, फलफूल तथा अन्य मौसमी उत्पादनबाट प्रसाद र परिकार तयार पारिन्छन् । प्रकृतिले दिएका उपहारलाई नै प्रकृतिसामु अर्पण गर्नु यस पर्वको सुन्दर विशेषता हो । यस पर्वले मानिसलाई प्रकृतिप्रति कृतज्ञ हुन, जलस्रोतको महत्त्व बुझ्न र प्राकृतिक सम्पदाको सम्मान गर्न सिकाउँछ । पोखरी र नदीको सरसफाइ, शुद्धता तथा पवित्रतालाई विशेष महत्त्व दिइन्छ । छठ आउनुअघि नै घाट र पोखरी सफा गर्ने परम्परा छ । कतिपय स्थानमा स्थानीयवासी र युवाहरू आफैँ जुटेर पोखरीका डिल सफा गर्ने, जलाशय वरिपरिका झारपात हटाउने र घाटलाई आकर्षक बनाउने गर्छन् । तर विडम्बना, जुन पोखरीलाई सफा गरेर पूजायोग्य बनाइन्छ, पर्व सम्पन्न भएपछि त्यही पोखरी फोहोरको थुप्रोमा परिणत हुन्छ । प्रकृतिको पूजा गर्ने नाममा प्रकृतिलाई नै फोहोर उपहार दिनु कस्तो आस्था हो ? सूर्यसँग जीवन र समृद्धिको कामना गर्ने तर जीवन सम्भव बनाउने प्रकृतिको संरक्षणप्रति बेवास्ता गर्नु कस्तो धार्मिक व्यवहार हो ? श्रद्धापूर्वक तयार पारिएका पूजाका सामग्री घरदेखि घाटसम्म पुर्याउँदा विशेष सावधानी अपनाइन्छ । कुन सामग्री कहाँ राख्ने, कुन परिकार कसरी चढाउने र कुन समयमा सूर्यलाई अर्घ दिने भन्ने कुरामा ध्यान दिइन्छ । तर पूजा सम्पन्न भएपछि त्यही सावधानी र जिम्मेवारी हराएजस्तो देखिन्छ । जनकपुरधामका मुख्य मानिने गंगासागर, धनुषसागर, दशरथ तलाउ र अंगराजसर पोखरीका घाटको अहिलेको अवस्था हेर्दा डम्पिङ साइट आसपासको दृश्यभन्दा कम देखिँदैन । पूजाका लागि ल्याइएका दियो, बत्ती, घैला, ढाकी, सुपली तथा अन्य सामग्री पोखरी र घाटमै छाडेर श्रद्धालुहरू घर फर्किएका छन् । यसले एउटा गम्भीर विरोधाभास उजागर गरेको छ । पूजा गर्दा पवित्रता खोज्ने हामी पूजा सकिएपछि त्यही पवित्रताको आधार बनेको वातावरणप्रति किन उदासीन हुन्छौँ ? धर्म र आस्था केही घण्टाको अनुष्ठानमा मात्र सीमित हुन सक्छन् र ? यदि हामी साँच्चिकै सूर्यदेव र छठी माताप्रति श्रद्धा राख्छौँ भने प्रकृतिले दिएका जल, जमिन र वातावरणको संरक्षण गर्नु पनि त्यही आस्थाको हिस्सा हुनुपर्ने होइन र ? छठ पर्वलाई शुद्धता, संयम, अनुशासन र स्वच्छताको पर्वका रूपमा पनि लिइन्छ । यस पर्वमा व्रतालुहरूले कठिन व्रत बस्छन्, खानपानमा विशेष शुद्धता अपनाउँछन् र पूजाका सामग्रीदेखि घाटसम्मको पवित्रतामा ध्यान दिन्छन् । तर स्वच्छताको यही सन्देश पर्व सम्पन्न भएपछि किन हराउँछ ? के स्वच्छता पूजाका लागि मात्र आवश्यक हो ? के पोखरीको पवित्रता अर्घ दिँदासम्म मात्र कायम रहनुपर्ने हो ? वास्तवमा छठको अर्थ सूर्यलाई अर्घ दिनु मात्र होइन । सूर्यले दिएको प्रकाश, ताप र ऊर्जाबाट चलिरहेको जीवनप्रति कृतज्ञ हुनु पनि हो । पानी, हावा, माटो र वनस्पतिप्रति सम्मान व्यक्त गर्नु पनि हो । प्रकृतिको संरक्षणबिना मानव जीवन सम्भव छैन भन्ने सन्देश आत्मसात् गर्नु पनि हो । तर व्यवहारमा छठको आध्यात्मिक र सांस्कृतिक पक्षलाई आत्मसात् गरे पनि यसको वातावरणीय सन्देशलाई पर्याप्त रूपमा लागू गर्न सकिएको छैन । आस्थाका नाममा गरिने कुनै पनि कार्यले प्रकृतिलाई क्षति पुर्याउनु हुँदैन । बरु प्रकृतिको पूजा गर्ने पर्वले प्रकृति संरक्षणको संस्कारलाई अझ बलियो बनाउनुपर्ने हो । पोखरी र घाटमा देखिएको फोहोरको समस्या भक्तजनको चेतनाको कमीसँग मात्र जोडिएको छैन । यसमा घाट व्यवस्थापन समिति र सम्बन्धित निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । छठ पर्वअघि घाट सजावट, बत्ती व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा अन्य तयारीमा विभिन्न समिति सक्रिय हुन्छन् । चन्दा संकलनदेखि सजावटसम्मका काममा व्यापक तयारी गरिन्छ । घाटलाई आकर्षक बनाउन विभिन्न संरचना निर्माण गरिन्छन् । तर पर्व सकिएपछि घाटको व्यवस्थापन र सरसफाइ कसको जिम्मेवारी हो भन्ने विषयमा पर्याप्त ध्यान पुगेको देखिँदैन । यदि पर्वअघि घाट सफा गर्न सकिन्छ भने पर्वपछि फोहोर उठाउन किन सकिँदैन ? हजारौँ भक्तजनलाई व्यवस्थित रूपमा अर्घ दिने वातावरण बनाउन सकिन्छ भने उनीहरू फर्किएपछि घाट सफा राख्ने व्यवस्था किन गर्न सकिँदैन ? घाट व्यवस्थापन समितिले पर्व सुरु हुनुअघि मात्र होइन, सम्पन्न भएपछि पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । प्रत्येक घाटमा पर्याप्त फोहोर संकलन गर्ने डस्टबिन राख्ने, पूजा सम्पन्न भएपछि तत्काल सरसफाइ टोली परिचालन गर्ने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने र पोखरीमा पूजाका सामग्री फाल्न नदिने व्यवस्था गर्न सकिन्छ । त्यस्तै, स्थानीय तहले पनि छठ पर्वका लागि विशेष सरसफाइ योजना बनाउन आवश्यक छ । पर्व अवधिभर मात्र नभई त्यसपछि पनि केही दिनसम्म नियमित फोहोर संकलन र व्यवस्थापनको व्यवस्था हुनुपर्छ । घाट व्यवस्थापन समितिको सफलता घाट कति आकर्षक बनाइयो, कति बत्ती बालियो वा कति सजावट गरियो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । पर्व सकिएपछि घाट कति सफा राखियो भन्ने कुरा पनि सफलताको महत्त्वपूर्ण मापदण्ड बन्नुपर्छ । जनकपुरधामसहित मधेश प्रदेशका केही स्थानमा सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारीलाई लिएर नागरिकको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बताउनुहुन्छ । उहाँका अनुसार यहाँका धेरै नागरिकले सार्वजनिक स्थान र सम्पत्तिको जिम्मेवारी सम्बन्धित निकायको मात्र हो भन्ने बुझाइ राख्ने गरेका छन् । सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण र सरसफाइमा पनि सबैको जिम्मेवारी हुनुपर्ने उहाँको भनाइ छ । प्रयोग गर्ने बेला सबैले प्रयोग गर्ने तर मर्मतसम्भार र सरसफाइको जिम्मेवारी आउँदा पालिकामाथि मात्र थोपर्ने प्रवृत्ति रहेको उहाँले गुनासो गर्दै आउनुभएको छ । नागरिकको सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । विद्यालयदेखि समुदायसम्म वातावरणीय चेतना फैलाउनुपर्छ । धार्मिक अगुवा, पुजारी, घाट व्यवस्थापन समिति र सामाजिक संघसंस्थाले पनि छठको वास्तविक सन्देशसँगै स्वच्छताको महत्त्वबारे जनचेतना फैलाउनुपर्छ । जनकपुरधाम उपमहानगरपालिका–१३ का स्थानीयवासी सतिशकुमार झा छठ पर्व वर्षमा एकपटक आउने भए पनि पोखरी र जलाशयको आवश्यकता वर्षभरि रहने बताउनुहुन्छ । छठमा अर्घ दिन प्रयोग गरिने पानी यही सहरका नागरिकको दैनिक जीवनसँग पनि जोडिएको उहाँको भनाइ छ । त्यसैले पर्व सकिएपछि पोखरीलाई फोहोर छाड्नु आफ्नै वातावरण र भविष्यलाई अस्वच्छ बनाउनु भएको उहाँ बताउनुहुन्छ । छठको वास्तविक सुन्दरता घाटमा बालिएका हजारौँ दीपमा मात्र छैन । यसको सुन्दरता पर्वपछि पनि स्वच्छ र निर्मल रहने पोखरीमा हुनुपर्छ । सूर्यलाई अर्घ दिँदा जोडिएका हातले पूजा सकिएपछि एउटा फोहोर टिपेर डस्टबिनसम्म पुर्याउन पनि सक्नुपर्छ । छठी मातासँग परिवारको सुख र समृद्धि माग्ने भक्तजनले आफूले पूजा गरेको जलाशयको संरक्षण गर्ने संकल्प पनि गर्न सक्नुपर्छ । भक्तजनले आफूले प्रयोग गरेका सामग्री र फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार विकास गर्नुपर्छ । घाट व्यवस्थापन समितिले सरसफाइलाई अनिवार्य जिम्मेवारी बनाउनुपर्छ । स्थानीय सरकारले प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । धार्मिक अगुवाहरूले पनि पूजा र सरसफाइ एकअर्काका परिपूरक हुन् भन्ने सन्देश दिनुपर्छ । प्रकृतिको पूजा गर्ने पर्वको साँचो सम्मान त्यसपछि पनि प्रकृतिलाई स्वच्छ राख्न सक्नुमा छ। -सञ्जय कुमार यादव, नेपाल न्यूज बैंक
छठपछि फोहोरले भरिए जनकपुरधामका पोखरी, प्रकृतिप्रतिको आस्थामाथि प्रश्न

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





_IX1Hc0VGIZ.jpg)
