जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन् । छठका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयलाई आकर्षक रूपमा सजाइएको छ । घाटहरूमा पूजाका सामग्री, फलफूल र घरमै तयार पारिएका परिकारसहित व्रतालु तथा श्रद्धालुको चहलपहल बढेको छ । मैथिली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको छठ पर्वलाई श्रद्धा, आस्था र शुद्धताको पर्वका रूपमा मनाउने गरिन्छ । षष्ठी परमेश्वरीको पूजा गरिने यस पर्वमा परिवारको सुख, समृद्धि, स्वास्थ्य र समाजको उन्नतिको कामना गरिन्छ । धार्मिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालीन कर्ण र द्रौपदी तथा त्रेतायुगमा माता सीताको प्रसङ्गसँग समेत जोडेर व्याख्या गर्ने गरिएको छ । छठ पर्वको अर्को विशेषता सामाजिक सद्भाव र समानता हो । यस पर्वमा जातजाति, धर्म, समुदाय र वर्गबीच भेदभाव नगरी सबैले एउटै घाटमा बसेर सूर्यको उपासना गर्ने परम्परा छ । जनकपुरधाममा विभिन्न समुदायका मानिस एकै ठाउँमा भेला भएर छठ मनाउने गर्छन् । केही मुस्लिम समुदायका व्यक्तिहरूले समेत यस पर्वमा सहभागिता जनाउने गरेको स्थानीयको भनाइ छ । प्रकृतिको पूजासँग जोडिएको यस पर्वमा बाँसका सामग्री, फलफूल तथा घरमै तयार पारिएका ठकुवा, भुसुवालगायतका प्रसाद चढाउने गरिन्छ । बजारमा पाइने सामग्रीभन्दा घरमै शुद्धतापूर्वक तयार पारिएका परिकारलाई विशेष महत्व दिइन्छ । परिवार र समाजको सुख, शान्ति तथा समृद्धिको कामनासहित श्रद्धालुहरू कठोर व्रत र नियम पालना गर्दै पर्व मनाउँछन् । पाँच दिनसम्म मनाइने छठ पर्व नहाय–खायबाट सुरु हुन्छ । त्यसपछि खरना मनाइन्छ भने मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । पर्वको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ । अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने यस पर्वले जीवनका सुख र दुःख दुवै अवस्थालाई स्वीकार गर्दै अघि बढ्नुपर्ने सन्देशसमेत दिने धार्मिक विश्वास छ । जनकपुरधाममा छठ पर्वले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको अनुपम दृश्य प्रस्तुत गरेको छ ।
छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

Read Complete Original Article
Published originally on पर्दाफास






