काठमाडौं । भिक्टर ग्योकेरेसले एक गोल र एक असिस्ट गरेपछि आर्सनलले युरोपेली च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । आर्सनलले स्लाभिया प्राहलाई २-१ ले पराजित गरेको हो । आइतबार प्रिमियर लिगमा लिभरपुललाई हराएको टोलीमा प्रशिक्षक मिकेल आर्टेटाले ६ खेलाडी परिवर्तन गरेका थिए । काइ हाभर्ट्जको स्थानमा स्विडिस स्ट्राइकर ग्योकेरेसले फरवार्ड सम्हालेका थिए । खेलको नवौँ मिनेटमा ग्योकेरेसले स्लाभियाको डिफेन्सपछाडि बल मिलाइदिएपछि नोनी माडुएकेले त्यसलाई सदुपयोग गर्दै गोल गरे । यससँगै आर्सनलले अग्रता लियो । पहिलो हाफ सकिनुअघि ग्योकेरेस आफैँले पनि गोल गरे । मिकेल मेरिनोसँग पास आदानप्रदान गरेपछि उनले उत्कृष्ट प्रहार गर्दै बललाई पोस्टमा लागेर जाली चुमाए । दोस्रो हाफमा स्लाभियाले खेलमा सुधार गरेको थियो । लगत्तै ओस्कार कुबियाकको बक्सबाहिरबाट आएको प्रहारलाई आर्सनलका गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाउ गरे । कर्नरबाट आएको मोजमिर चिटिलको हेडरलाई गाब्रियल मागाल्हाएसले गोललाइनबाट क्लियर गरे । तर खेलको ९०औँ मिनेटमा विक्टर नोभाकले नजिकबाट गोल गर्दै स्लाभियाका लागि एक गोल फर्काए । गत सिजन च्याम्पियन्स लिगको यस चरणमा शतप्रतिशत जित निकालेको आर्सनल यस सिजन पनि चार खेलपछि अपराजित छ । टोली अंकतालिकामा पेरिस सेन्ट जर्मेन पीएसजी र रियल मड्रिडपछि तेस्रो स्थानमा रहेको छ ।
च्याम्पियन्स लिगमा आर्सनलको स्लाभियामाथि २–१ को जित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






