काठमाडौं। चीन भ्रमणबाट फर्किएपछि पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिनकुमार आचार्यले आज पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन्। महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय टोलीले नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरेको थियो। टोली नोभेम्बर २६ मा नेपाल फर्किएको थियो। ब्रिफिङका क्रममा महामन्त्री आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताका विषयमा सभापति लामिछानेलाई जानकारी गराएका थिए। उक्त भेटसहित केन्द्रीय तहदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएको संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान तथा सुशासन र विकासका क्षेत्रमा अन्तरपार्टी सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको उनले बताए। भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन र अन्तरक्रियाका साथै विपद्पूर्व तथा विपद्पश्चात्को रणनीति र तयारीबारे गरिएको अवलोकन तथा छलफलबारे पनि आचार्यले जानकारी गराएका थिए। त्यसैगरी, भ्रमणका क्रममा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे समेत खुलेर संवाद भएको उनले बताए। भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद तथा भ्रमणका क्रममा देखेका, सिकेका र छलफल भएका विषयलाई पार्टीभित्र तथा देश विकासमा लागू हुने गरी कार्यान्वयनको दिशामा अघि बढाउन सभापति लामिछानेले महामन्त्री आचार्यमार्फत भ्रमण टोलीलाई निर्देशन दिएका छन्।
चीन भ्रमणबारे सभापति लामिछानेलाई महामन्त्री आचार्यको ब्रिफिङ

Read Complete Original Article
Published originally on टक्सार






