काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको ११ दिने भ्रमणको तयारी गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको यो भ्रमणमा राजनीतिक सम्बन्ध विस्तारसँगै विकास मोडेल, विपद् व्यवस्थापन र स्थानीय सरकार सञ्चालन प्रणालीको अध्ययनलाई प्राथमिकता दिइएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने प्रतिनिधिमण्डल नोभेम्बर १५ मा चीन प्रस्थान गर्नेछ। टोलीले सिचुवान प्रान्तबाट भ्रमण सुरु गरी बेइजिङ पुगेर यात्रा सम्पन्न गर्नेछ। भ्रमणका क्रममा टोलीले सिचुवानको हाइटेक औद्योगिक पार्क, सन् २००८ को भूकम्प प्रभावित वेन्चुआन क्षेत्र र जायन्ट पाण्डा ब्रीडिङ केन्द्रको अवलोकन गर्नेछ। साथै, सिचुवान विश्वविद्यालयमा विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ। नोभेम्बर १९ देखि टोली जेजियाङ प्रान्तमा केन्द्रित हुनेछ। त्यहाँ रोबोटिक्स प्रविधि, औद्योगिक पार्क र ग्रामीण शासन प्रणालीको अध्ययन गरिनेछ। नोभेम्बर २३ मा जिन्ह्वामा हुने चीन-नेपाल उद्यमी सम्मेलनमा महामन्त्री आचार्यले सम्बोधन गर्नेछन्। भ्रमणको अन्तिम चरणमा नोभेम्बर २४ मा टोली बेइजिङ पुग्नेछ, जहाँ सीपीसीका उच्च नेताहरूसँग भेटवार्ता हुनेछ। भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र १६ जना सांसदहरू सहभागी छन्। प्रस्थान अघि प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रिय हित र विकासका मुद्दामा केन्द्रित हुन निर्देशन लिएको थियो। टोली नोभेम्बर २६ मा स्वदेश फर्कनेछ।
चीन भ्रमणको तयारीमा रास्वपा, यस्तो छ ११ दिने कार्यतालिका

Read Complete Original Article
Published originally on नेपालन्युज






