चीन । चीनमा पखेटाविनै उड्न सक्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ। मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सा शहरमा उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफल उडान गरेको हो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ। यस प्रविधिमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ। परम्परागत विमानमा जस्तो छुट्टै पखेटा आवश्यक नपर्ने यो कारलाई व्यक्तिगत हवाई यातायातको नयाँ अवधारणाका रूपमा अघि सारिएको छ। एक जना यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम छ। यसले अधिकतम १२० किलोग्रामसम्म भार बोक्न सक्छ। पखेटाविना उड्न सक्ने प्रविधिको सफल परीक्षणले व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। यससँगै भविष्यमा व्यक्तिगत प्रयोजनका लागि उड्ने कारको विकास र प्रयोगलाई थप विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।
चीनमा पखेटा नभएकाे उड्ने कारको सफल परीक्षण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






