काठमाडौं । देशभर चिसो बढ्दो क्रममा छ । तापक्रम बिस्तारै घटिरहेको छ । सोमबार (कात्तिक २३)) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम १०.० डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यो तापक्रम यस वर्ष अर्थात् ०८३ साल लागेयताकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “काठमाडौंमा यो वर्षको लागि अहिलेसम्म मेजर (मापन) गर्दाखेरि आज नै कम हो,” महाशाखाकी मौसमविद् माधवी सिग्देलले बाह्रखरीसित भनिन् । सोही समयमा आइतबार (कात्तिक २२) काठमाडौंको न्यूनतम तापक्रम १२.० र शनिबार (कात्तिक २१) १३.२ डिग्री मापन गरिएको थियो । यस वर्ष यसअघि काठमाडौंको कम न्यूनतम तापक्रम कात्तिक ११ गते ११.५ डिग्री मापन गरिएको उनले जानकारी दिइन् । सोमबार बिहान महाशाखाले सार्वजनिक गरेको १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –०.५ डिग्री छ । डडेलधुराको ८.७, ताप्लेजुङको ११.७, धनकुटाको १२.४, पोखराको १२.६, वीरेन्द्रनगरको १३.४, ओखलढुंगाको १३.७ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । “हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।
चिसो बढ्यो, १० डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






