चिप निर्माता कम्पनी एनभिडियाले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरणअनुसार अक्टोबर २५ मा समाप्त भएको तीन महिनाको अवधिमा कम्पनीको आम्दानी १ खर्ब १५ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ। यो सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा १०३ प्रतिशत र अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशत बढी हो। यसअघि वालस्ट्रिटका विश्लेषकहरूले कम्पनीको आम्दानी १ खर्ब ९ अर्ब १० करोड डलरको हाराहारीमा रहने अनुमान गरेका थिए। कम्पनीको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने डेटा सेन्टर व्यवसायबाट भएको आम्दानी दोब्बरभन्दा बढी बढेर १ खर्ब ७ अर्ब ६० करोड डलर पुगेको छ। यस क्षेत्रमा पनि कम्पनीले विश्लेषकहरूको अपेक्षालाई उछिनेको छ। इन्ग्याजेटको रिपोर्ट अनुसार मंगलबार सार्वजनिक वित्तीय नतिजाले लगानीकर्ताको चिन्ता कम गर्न पर्याप्त हुन्छ कि हुँदैन भन्ने आगामी दिनमा स्पष्ट हुने अपेक्षा गरिएको छ। कम्पनीको तेस्रो त्रैमासिकको सम्पूर्ण अवधिमा हुआङ नै सीईओ थिए भने क्रेसले पछिल्ला चार कार्यदिन मात्रै उक्त जिम्मेवारी सम्हालेकी छन्। हुआङले नोभेम्बर १२ मा राजीनामा दिएयता एनभिडियाको सेयर मूल्य करिब ११ प्रतिशत घटेको थियो। मंगलबारको वित्तीय प्रतिवेदन सार्वजनिक हुनुअघि हुआङले आफू कम्पनीमा फर्कन तयार रहेको बताएका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको वक्तव्यमा उनले सञ्चालक समितिले आफू फर्कनु लगानीकर्ता, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुने निर्णय गरेमा सीईओका रूपमा पुनः जिम्मेवारी सम्हाल्न सम्मानित महसुस गर्ने उल्लेख गरेका थिए। उनको वक्तव्यलाई सञ्चालक समितिलाई आफ्नो पद फिर्ता दिन दबाब दिने प्रयासका रूपमा पनि व्याख्या गरिएको छ। सञ्चालक समिति अध्यक्ष हार्भे जोन्सले कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः सोही पदमा फर्काउने कुनै योजना नरहेको बताएका छन्। जोन्सका अनुसार कम्पनीको सञ्चालक समितिले नयाँ सीईओको खोजीलाई गम्भीरतापूर्वक लिएको छ। यसका लागि कम्पनीभित्रैका र बाहिरका सम्भावित उम्मेदवारमाथि विचार भइरहेको छ। ‘उन्नत सिलिकन प्रविधि र राष्ट्रिय सुरक्षा सम्बन्धी परिस्थितिले हाम्रो बजारमा ठूलो परिवर्तन ल्याइरहेको विश्वमा हामी छौँ भन्ने कुरा सञ्चालक समितिले बुझेको छ,’ जोन्सले भने, ‘नयाँ सीईओले यी चुनौतीलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले खोजी प्रक्रिया विस्तृत हुनेछ। हामी सकेसम्म चाँडो स्थायी सीईओ नियुक्त गर्न चाहन्छौँ, तर उपयुक्त व्यक्ति नभेटेसम्म हतारमा नियुक्ति गर्नेछैनौँ।’ नयाँ नेतृत्वको खोजीका अतिरिक्त एनभिडियाले पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमबाट उत्पन्न चुनौती पनि सामना गर्नुपर्ने देखिएको छ। वालस्ट्रिट जर्नलले बजार बन्द हुनुअघि प्रकाशित गरेको समाचारअनुसार अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले एनभिडियामाथि अनुसन्धान सुरु गरेको छ। यद्यपि अनुसन्धानको विषय के हो भन्नेबारे तत्काल स्पष्ट हुन नसकेको समाचारमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ। The post चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो appeared first on Technology Khabar.
चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






