काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । दोस्रो जितसँगै सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ । चितवनको भने यो तेस्रो खेलमा पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनले वर्षाका कारण दोस्रो खेल रद्द भएपछि लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । चितवनको ३ खेलबाट ३ अंक छ । चितवनको हारसँगै साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणमा अपराजित रहने एक्लो टोली बनेको छ । सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । इशान पाण्डेले २९ बलमा २ चौकासहित २५ रन जोडे । ३ रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । विनोद ११ रन बनाएर आउट भए । त्यसपछि म्याकमुलेन र इशानले तेस्रो विकेटका लागि ३६ रन जोडे । म्याकमुलेन र कप्तान दीपेन्द्रसिंह ऐरी लगातार आउट भएपछि सुदूरपश्चिम ७० रनमा ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो । त्यसपछि आरिफ शेख र इशानले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । इशान आउट भएपछि आरिफले शेरफेन रदरफोर्डसँग मिलेर टोलीलाई जितसम्म पुर्याए । रदरफोर्डले १५ बलमा २ चौका र १ छक्कासहित अविजित २१ रन बनाए । आरिफले २६ बलमा अविजित २० रन जोडे । चितवनका रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रिजन ढकाल र मौसम ढकालले समान १ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्धशतकका लागि १ रन आवश्यक रहेका बेला ठूलो सट प्रहार गर्ने क्रममा उनी आउट भए । २७ रनमा २ विकेट गुमाएको चितवनका लागि बोपारा र डाविड मलानले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । यस्तै, बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रन जोडे । विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए । डाविड मलानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन जोडे । टम टेलर ६ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट हात पारे ।
चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






