काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडकअन्तर्गत मुडे–चरिकोट खण्डको स्तरोन्नतिको बाँकी काम चार वर्षपछि पुनः अघि बढ्न थालेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन नसकेको आयोजनाको काम ठेक्का तोड्ने प्रक्रिया अघि बढेपछि निर्माण कम्पनीले तिहारअघि पुनः सुरु गरेको हो । पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार २०७५ सालमा ठेक्का सम्झौता भएर सुरु भएको आयोजना लामो समयदेखि अलपत्र थियो । २०८० सालमा पुरानो ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय भए पनि निर्माण कम्पनी अदालत पुगेपछि आयोजना थप अन्योलमा परेको थियो । २०८१ सालमा अदालतले पुरानै निर्माण कम्पनीबाट काम गराउन आदेश दिएको थियो । त्यसपछि चार पटकसम्म म्याद थपिए पनि निर्माणले गति लिन सकेन । नयाँ सरकार गठन भएपछि कम्पनीलाई अन्तिम पटक काम सम्पन्न गर्ने अवसर दिइएको थियो । तर, त्यस अवधिमा पनि अपेक्षित प्रगति नभएपछि मन्त्रालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो । मन्त्री लम्सालले मन्त्रालयले दैनिक रूपमा आयोजनाको प्रगति अनुगमन गरिरहेको बताएका छन् । तोकिएको गतिमा काम अघि नबढे पुनः ठेक्का तोडेर बाँकी निर्माण सम्पन्न गर्ने प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
चार वर्षदेखि अलपत्र मुडे-चरिकोट सडकको कामले फेरि गति लिँदै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






