गण्डकी। पोखरा महानगरपालिका–२७ को तालचोकदेखि वडा नम्बर ३१ को बेगनास जोड्ने सडक निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। २०७९ असारमा ठेक्का सम्झौता गरी दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको उक्त सडकको भौतिक प्रगति अहिले ८० प्रतिशत मात्र पुगेको छ। पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमका अनुसार निर्माणका लागि चारपटक म्याद थपिए पनि काम पूरा हुन सकेको छैन। पछिल्लोपटक गत असारमा थपिएको म्याद पनि कात्तिकमै सकिएको छ। ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले चार लेनको सडक निर्माणको जिम्मा पाएको हो। सङ्घ सरकारको समन्वय र विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत सडक निर्माण भइरहेको छ। इन्जिनियर गौतमले निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा काम पूरा हुन नसकेको बताए। “महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ,” उनले भने, “मङ्सिरभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ। उक्त समयसीमाभित्र निर्माण पूरा नभए जरिबानालगायत कारबाही अघि बढाउँछौँ।” सुरुमा जग्गासम्बन्धी विवाद देखाउँदै काममा ढिलाइ गरेको निर्माण कम्पनीले विवाद समाधान भएपछि पनि निर्माणलाई गति दिन नसकेको गौतमले बताए। केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विश्व बैङ्क र परामर्शदातासहितको छलफलमा कम्पनीले तोकिएको समयभित्र काम सक्ने प्रतिबद्धता जनाएको थियो। ३.२८ किलोमिटर लामो सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासीसमेत असन्तुष्ट छन्। पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सडक समयमै नबन्दा पर्यटकीय क्षेत्र बेगनास जाने सर्वसाधारणले सास्ती खेप्नुपरेको बताए। “पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ। चारपटकसम्म म्याद थप्दा पनि सडक निर्माण नहुनु दुःखद छ,” उनले भने, “निर्माण कम्पनीलाई जवाफदेही बनाउनुपर्छ। महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ।” इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमुना सडक निर्माण गर्ने योजना छ। सडक छेउमा बगैँचा र यात्रु प्रतीक्षालयसहितका पूर्वाधार पनि बनाइनेछन्। सडकमा तीनवटा पुलसमेत निर्माण हुनेछन्। पृथ्वी राजमार्गसँग जोडिने यो सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङसम्म पुग्नेछ। महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको सडक निर्माण पूरा भएपछि ‘सात तालको वाटिका’ भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको आर्थिक विकास र पर्यटन गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
चारपटक म्याद थप्दा पनि बनेन तालचोक-बेगनास सडक

Read Complete Original Article
Published originally on नेपालन्युज






