काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरण सञ्चालक समितिको बैठकअघि आज कार्यकारी निर्देशक तथा कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका समयमा बढ्न सक्ने विद्युत् मागको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन तथा कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्धताको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना आगामी बैठकमा पेस गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका छन् ।
चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

Read Complete Original Article
Published originally on नेपालन्युज






