काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा छठ पूजाको तयारी तीव्र पारिएको छ। छठ पर्व मनाउन आउने व्रतालु तथा श्रद्धालुहरूको सहजताका लागि घाट व्यवस्थापन, सरसफाइ, बत्ती तथा सजावटलगायतका काम भइरहेको छ। श्री छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ। व्रतालुहरूको सुविधाका लागि घाटमा कार्पेट बिछ्याउने, राति बस्नका लागि ब्ल्याङ्केट उपलब्ध गराउने तथा बत्ती र झिलिमिली सजावटको व्यवस्था गरिएको छ। समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताका अनुसार व्रतालुहरूलाई सहज रूपमा आफ्नो पूजा गर्ने स्थान पहिचान गर्न घाटमा नम्बरिङ गरिएको छ। करिब ५०० वटा घाटको व्यवस्थापन गरी गोलम्बर र घाटलाई ए, बी र आरलगायतका संकेतमार्फत नम्बरिङ गरिएको उनले बताए। यस वर्ष नयाँ व्रतालुहरू पनि थपिएका छन्। करिब १०० जना नयाँ व्रतालुका लागि समेत घाट उपलब्ध गराउने व्यवस्था गरिएको गुप्ताले जानकारी दिए। त्यसैगरी आर्थिक अवस्था कमजोर भएका तथा असहाय व्रतालुका लागि २० देखि २२ वटा घाट निःशुल्क उपलब्ध गराइएको छ। उनका अनुसार आर्थिक अभाव भएका व्रतालुहरूलाई आवश्यकताअनुसार पूजा सामग्री, कपडा, फलफूल तथा ठकुवा प्रसादसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ। ‘कुनै पनि व्रतालुलाई आवश्यक सामग्रीको अभाव हुन नदिन हामीले सबै व्यवस्था मिलाएका छौँ। छठी माताको आशीर्वादले तयारी राम्रोसँग अघि बढिरहेको छ,’ गुप्ताले भने। गौरीघाटमा बाँदरका कारण अहिले पूजाका लागि आवश्यक कपडाहरू भने राखिएको छैन। ती सामग्री भोलिदेखि व्यवस्थित रूपमा राखिने समितिले जनाएको छ। छठ पर्वका अवसरमा गौरीघाटमा हरेक वर्ष ठूलो संख्यामा श्रद्धालुहरू भेला भएर बागमती नदीमा स्नान गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्।
गौरीघाटमा छठ पूजाको तयारी तीव्र, ६ सय व्रतालुका लागि व्यवस्थापन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






