गण्डकी।भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ। पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित उक्त ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए। ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले बताए। “भारतीय गोर्खा सैनिकका ३४ वटा बटालियनको इतिहास, वीरता र योगदानलाई झल्काउने गरी ग्यालरी स्थापना गरिएको छ”, उनले भने, “ग्यालरीले गोर्खा सैनिकको इतिहास बुझ्न नयाँ पुस्तालाई सघाउने छ, पर्यटकीय हिसाबले पनि यसको महत्त्व बढ्ने हाम्रो विश्वास छ।” इतिहासको संरक्षण गर्नु आफूहरूको दायित्व सम्झँदै पोखरामा रहेका सम्पूर्ण भारतीय भूतपूर्व सैनकको पहल र सक्रियतामा ग्यालरी स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ। प्रथम विश्वयुद्धदेखि हालसम्म विभिन्न सैनिक अभियानमा गोर्खा सैनिकहरूले प्रदर्शन गरेको वीरता र बलिदानको इतिहासलाई ग्यालरीमा संरक्षित गरिएको उनले बताए। गोर्खाली सैनिकहरूले विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा पुर्याएको योगदान नेपालको मात्र नभई अन्तर्राष्ट्रिय पहिचान र गौरवसँग समेत जोडिएको अध्यक्ष खत्रीको भनाइ छ। भारतीय भूतपूर्व सैनिकहरूको त्याग र पुर्खाहरूको वीरतालाई स्मरण गर्दै गोर्खाली पहिचानलाई संरक्षण, सम्मान र विश्वसामु चिनाउने प्रयासका रूपमा यस ग्यालरीलाई लिइएको छ।
गोर्खा सैनिकको इतिहास झल्काउन ग्यालरी

Read Complete Original Article
Published originally on नेपालन्युज






