सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिले अस्पतालमा तोडफोड र आगजनी गरेका छन् । गएराति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएपछि अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी भएको हो । नौ महिनाकी गर्भवती सिमा तीन दिनदेखि नगर अस्पतालमा उपचाररत थिइन् । उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै आफन्तले विरोध जनाउँदै अस्पतालमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो । प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । थप उपचारका लागि सिमालाई राति १०ः४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्याइएको थियो । त्यहाँ चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन् । त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोप लागेका अस्पतालकै करार कर्मचारी बरहथवा–५ का ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ । तोडफोड र आगजनीबाट अस्पतालमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । घटनापछि अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गर्भवती महिलाको मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






