मानिसको वास्तविक उचाइ उसले अनुकूल समयमा कति सफलता प्राप्त गर्यो भन्ने कुराले होइन, प्रतिकूल समयमा पनि आफ्नो आत्मविश्वास र सिद्धान्त कति जोगाउन सक्यो भन्ने कुराले निर्धारण गर्छ । विश्व राजनीतिलाई हेर्ने हो भने नेपोलियन बोनापार्ट कुनै समय युरोपका शक्तिशाली शासक र विश्वविजेता सेनानायक थिए तर सन् १८१५ जुन १८ मा वाटरलुको युद्धमा पराजित भएपछि बेलायतले उनलाई दक्षिण एट्लान्टिक महासागरको दुर्गम टापु सेन्ट हेलेनामा निर्वासनमा पठायो । नेल्सन मण्डेला २७ वर्षको जेलजीवनपछि प्रतिशोधको बाटोमा होइन, राष्ट्रिय मेलमिलापको बाटोमा हिँडे । अब्राहम लिंकन अनेकौं राजनीतिक असफलतापछि पनि आफ्नो उद्देश्यबाट विचलित भएनन् । मार्टिन लुथर किङले कठिन परिस्थितिमा पनि आफ्नो विचार र नैतिकताको बाटो छोडेनन् । उनीहरूको जीवनबाट सिक्नुपर्ने कुरा कुशल नेता भनेको केवल संघर्ष गरेर आफू स्थापित हुनु होइन, स्थापित भएपछि आफ्नो नेतृत्वलाई समाजको हितमा समर्पित गर्नु हो । आज गगनको भूमिका बदलिएको छ । परिस्थिति बदलिएको छ । हिजोसम्म नेतृत्वको कार्यशैलीप्रति असहमति राखेर पार्टीको निर्णयप्रक्रिया, गुटगत राजनीति, अवसरको वितरण र राजनीतिक जवाफदेहितामाथि नेतृत्वलाई प्रश्न गर्ने ठाउँमा रहनुभएका गगन थापा आज आफैं प्रश्नको केन्द्रमा हुनुहुन्छ । हिजो उहाँले उठाउनुभएको सुशासनको प्रश्न, पुस्तान्तरणको मुद्दा अब संगठनको संरचना र निर्णय प्रक्रियामा देखिनुपर्नेछ । नेपाली राजनीतिमा महत्त्वपूर्ण स्थान राख्ने दल नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनबाट श्रद्धेय गगनकुमार थापा कांग्रेसको पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । यो उहाँको व्यक्तिगत र राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण उपलब्धिमात्र होइन, नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा युवाहरूको जवर्जस्त प्रवेशको एउटा नयाँ अध्याय पनि हो । कुनै एक समय थियो मानिसहरू गगन थापालाई सुन्नकै लागि लामो यात्रा गर्न र चर्को घाममा लामो समयसम्म उभिएर पर्खिन तयार थिए । गगन कति राम्रो वक्ता हुनुहुन्छ भन्ने प्रमाणित गर्नुपर्ने थियो तर आज आफू कति जिम्मेवार नेतृत्वकर्ता हुनुहुन्छ भन्ने प्रमाणित गर्नुपर्ने छ । अब उहाँको सफलता भाषणको प्रभावसँगै निर्णयको निष्पक्षता, संगठनको एकता, राजनीतिक संस्कारको परिवर्तन र जनताको जीवनमा देखिने परिणाममा मापन हुनेछ । रास्वपाको अधिवेशनस्थलमा उहाँको मन्तव्य, मधेसमा भड्किएको धार्मिक द्वन्द्व र भोटेकोशी बाढीले देश रोएको बेला सत्ता पक्ष र विपक्षको हिसाबकिताब र दलभन्दा माथि देश र जनता भनेर उहाँले देखाएको नेतृत्वदायी भूमिका र विपदमा सरकारलाई दिएको साथ एउटा सुन्दर उदाहरणका रूपमा लिन सकिन्छ । अबको यात्रामा गगन थापाले ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण विषयहरू : १. प्रश्न गर्ने ठाउँबाट उत्तर दिने ठाउँमा गगन थापा,गगन थापाको जीवनमा प्राप्त सबै समयभन्दा सही समय पनि यही समय हो भने कठिन समय पनि यही हो । गगन थापाको राजनीतिक यात्रा हेर्दा उहाँ सधैं प्रश्न गर्ने, बहस गर्ने, असहमतिलाई अभिव्यक्त गर्ने र राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउन खोज्ने नेताका रूपमा चिनिनुभएको छ । हिजो नेतृत्व प्राप्त गर्नु नै ठूलो चुनौती थियो तर अबको चुनौती नेतृत्वको औचित्य प्रमाणित गर्नु हो, जुन हिजोभन्दा पक्कै कठिन छ । राजनीतिमा प्रश्न उठाउनु एउटा जिम्मेवारी हो तर ती प्रश्नहरूको समाधान दिनु अझ ठूलो जिम्मेवारी हो । हिजो उहाँले पार्टीभित्र पुस्तान्तरण, नेतृत्व हस्तान्तरण, राजनीतिक शुद्धीकरण, सुशासन र नीतिगत स्पष्टताको विषयमा परिवर्तनका लागि प्रश्न उठाउनुभयो, आज उहाँसँग परिवर्तनको अभ्यास गर्ने अधिकार र जिम्मेवारी दुबै छ । तर, आज उहाँको भूमिका बदलिएको छ । परिस्थिति बदलिएको छ । हिजोसम्म नेतृत्वको कार्यशैलीप्रति असहमति राखेर पार्टीको निर्णयप्रक्रिया, गुटगत राजनीति, अवसरको वितरण र राजनीतिक जवाफदेहितामाथि नेतृत्वलाई प्रश्न गर्ने ठाउँमा रहनुभएका गगन थापा आज आफैं प्रश्नको केन्द्रमा हुनुहुन्छ । हिजो उहाँले उठाउनुभएको सुशासनको प्रश्न, पुस्तान्तरणको मुद्दा अब संगठनको संरचना र निर्णय प्रक्रियामा देखिनुपर्नेछ । हिजो उहाँले माग गर्नुभएको आन्तरिक लोकतन्त्र अब उहाँकै नेतृत्वमा संस्थागत हुनुपर्नेछ । संगठनलाई एकताबद्ध बनाउने दायित्व, पार्टीको नीति, विचार, कार्यशैली र राजनीतिक भविष्यलाई दिशा दिने र उपयुक्त निर्णय गर्ने जिम्मेवारी उहाँको काँधमा छ । हिजो अरूको कार्यशैलीमाथि प्रश्न उठाउने उहाँले अब आफ्नै कार्यशैलीबाट ती प्रश्नहरूको उत्तर दिनुपर्नेछ । २. पार्टी एकता र आन्तरिक लोकतन्त्रको संस्थागत विकास,नेपाली कांग्रेसको वर्तमानमा सबैभन्दा महत्वपूर्ण चुनौती आन्तरिक एकता हो । एकातिर हिजोका नेतृत्व तहमा रहेका केही दाग लागेका नेताहरूको घुक्याइ सुनेर सँगै लिएर जाँदा आमपब्लिक टाढा हुने डर छ भने छोडेर अघि जाँदा सभापति हुनुको अर्थ आफूलाई समर्थन गर्नेहरूको मात्र नेतृत्व गर्नु होइन फरक मतलाई अटेर गरेको अर्थ लाग्नेछ । फरक विचार राख्ने, फरक समूहमा आबद्ध हुने र नेतृत्वप्रति फरक धारणा राख्ने सबैलाई पार्टीको साझा राजनीतिक यात्रामा समेट्नु आजको चुनौती र जिम्मेवारी हो । ३.सुशासन र राजनीतिक नैतिकताको व्यावहारिक कार्यान्वयन,गगन थापाले लामो समयदेखि उठाउँदै आउनुभएको महत्त्वपूर्ण विषय सुशासन र राजनीतिक जवाफदेहिता हो । भ्रष्टाचारको विषयमा आफ्ना र अरूका लागि फरक मापदण्ड हुनुहुँदैन । शपथ ग्रहणमा केही साथीलाई रोकेर भ्रष्टाचारिलाई राजनीतिक संरक्षण होइन, कानुनी प्रक्रिया र संस्थागत जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ भन्ने कुराको प्रमाणको सुरुवात गरी पनि सक्नुभएको छ । ४. युवा-महिला नारामा होइन-निर्णय प्रक्रियामा,१५औं महाधिवेशनबाट आधिकारिक रूपमा नेतृत्व तहमा नै युवाहरूको उल्लेखनीय उपस्थिति रहेको छ । तथापि राजनीतिमा केवल उमेर समूहमात्रै युवाको परिचयभित्र पर्दैन । तसर्थ अबको चुनौती भनेको उनीहरूले गर्ने कार्य सम्पादनको प्रभावकारीता नै हो । जसको सिधासिधा जस या अपजस नेतृत्वसँगै गएर ठोकिन्छ । उम्मेदवार छनोटदेखि पार्टीको महत्वपूर्ण निर्णय प्रक्रियासम्म महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संख्यामा मात्र सीमित नगरी निर्णय गर्ने तहसम्म पुर्याउनु छ । उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्छ । ५. विचार र नीतिमा आधारित कांग्रेस निर्माण,एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको यात्राको चासो र चिन्ता अनि केवल सरकारमा पुग्ने वा निर्वाचन जित्ने रणनीतिले पार्टीको दीर्घकालीन भविष्य निर्माण गर्न सक्दैन । आजको समाजले भोगिरहेका समस्याको समाधान दिनसक्ने विचार र नीतिले मात्र राजनीतिक दललाई सान्दर्भिक बनाउँछ । नेपाली कांग्रेसको ऐतिहासिक वैचारिक आधार बीपी कोइरालाले अघि सार्नुभएको लोकतान्त्रिक समाजवाद हो । यसलाई आजको बदलिँदो आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय परिवेशमा नयाँ पुस्ताको आवश्यकता र आकांक्षासँग जोड्नु आवश्यक छ । रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि, आर्थिक असमानता र सामाजिक न्यायका विषयमा कांग्रेसले स्पष्ट नीति र कार्ययोजना दिन सक्नुपर्छ । ६. आलोचनालाई स्वीकार गर्ने र परिणामबाट जवाफ दिने नेतृत्व,विसं २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्यो । बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । त्यतिबेला प्रभावकारी रूपमा प्रश्न गर्नसक्ने प्रतिपक्ष कमजोर थियो । बीपीलाई लाग्यो, बलियो प्रतिपक्ष नभएको अवस्थामा सरकार निरंकुश बन्ने र आफ्ना कमजोरीप्रति अनभिज्ञ हुने सम्भावना रहन्छ । त्यसैले उहाँले पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितलाई बोलाएर एउटा महत्त्वपूर्ण प्रस्ताव राख्नुभयो । मसँग संसदमा दुईतिहाइ बहुमत छ । मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर त्यति बलियो सुनिएको छैन । त्यसैले तपाईंले आफ्नो पत्रिका ‘समीक्षा’मार्फत मेरा गल्ती र कमजोरीहरू केलाएर लेखिदिनुहोला । पार्टीको नेतृत्व प्राप्त गर्नु एउटा राजनीतिक उपलब्धि हो तर देशको नेतृत्व गर्न सक्ने विश्वास आर्जन गर्नु त्यसभन्दा ठूलो परीक्षा हो । गगन थापाले अब आफूलाई केवल नेपाली कांग्रेसको सभापतिका रूपमा होइन, सम्भावित प्रधानमन्त्रीका रूपमा समेत तयार गर्दै लैजानुपर्छ । गगन थापाको राजनीतिक यात्रालाई अब केवल एउटा कुशल संगठनकर्ताको यात्राका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । त्यस्तै गगन थापाको नेतृत्वमा अहिले लगभग सतप्रतिशत स्वीकार्य कार्य समिति रहेको छ । सम्भवतः उहाँमाथि पार्टीभित्र प्रश्नहरू कम उठेको सुनिने छ । गगनको राजनीतिक पहिचानको एउटा महत्त्वपूर्ण पक्ष प्रश्नसँग नभाग्ने, प्रश्न गर्ने शैली र सार्वजनिक बहसमा सहमति या असहमति दुबैमा उहाँको प्रत्यक्ष सहभागिता हो । अब उहाँले आफ्नै नेतृत्वमाथि उठ्ने प्रश्नहरूलाई पनि त्यही साहसका साथ सामना गर्न सक्नुपर्छ । ७. प्रशंसाबाट परिणामतर्फको यात्रा,पद र शक्ति स्थायी हुँदैनन् तर कर्म र योगदानको मूल्यांकन समयले गरिरहन्छ । गगन थापाका लागि सभापतिको पद राजनीतिक यात्राको अन्तिम उपलब्धि होइन, इतिहासमा प्राप्त सबैभन्दा ठूलो जिम्मेवारीको लागि एउटा सुखद् र चुनौतीपूर्ण सुरुवात हो । हिजो उहाँले परिवर्तनको माग गर्नुभयो, आज परिवर्तनको जिम्मेवारी उहाँकै काँधमा छ । हिजो उहाँले सुशासनको कुरा गर्नुभयो, आज आफ्नै संगठनमा सुशासनको अभ्यास देखाउनुपर्ने छ । हिजो उहाँले पुस्तान्तरणको बहस गर्नुभयो, आज नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्नेछ । हिजो उहाँले राजनीतिक संस्कार बदल्ने कुरा गर्नुभयो । आज आफ्नै व्यवहारबाट नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नुपर्ने छ । गगन थापाले आफ्नो राजनीतिक यात्रामा प्रशंसा पनि पाउनुभएको छ, आलोचना पनि सामना गर्नुभएको छ । उहाँको नेतृत्व परिवर्तनको अभियानलाई समर्थन गर्नेहरू छन् भने उहाँका निर्णय र राजनीतिक कार्यशैलीप्रति प्रश्न उठाउनेहरू पनि छन् । नेतृत्वको वास्तविक शक्ति आफूलाई समर्थन गर्नेहरूको संख्यामा मात्र हुँदैन, आफूविरुद्ध प्रश्न उठाउनेहरूलाई पनि विश्वासमा लिनसक्ने क्षमतामा हुन्छ । अब यी दुवै पक्षलाई सम्बोधन गर्ने जिम्मेवारी उहाँकै हो । त्यसैले गगन थापाले आफ्नो नेतृत्वलाई प्रशंसाको घेराभित्र सीमित राख्नु हुँदैन । आलोचनाबाट भाग्नु हुँदैन । असहमतिलाई शत्रुता ठान्नु हुँदैन । आफ्ना प्रतिबद्धताहरूलाई परिणाममा रूपान्तरण गर्न सक्नुपर्छ । गगनले अब राजनीतिमा त्यही फरक मानक स्थापित गर्न सक्नुपर्छ । ८. चौतर्फी घेराबन्दी र प्रहार,भनिन्छ नि जुन वृक्षमा फल लाग्छ सबैभन्दा धेरै ढुंगा पनि उसैले खानु पर्दछ, यो प्राकृतिक नियम हो । वर्तमान सरकार १०० को स्पिडमा ओरालो यात्रामा छ भने प्रतिशतमा हेर्ने हो कांग्रेस भलै ६० को स्पिडमा छ तर उकालोको यात्रामा छ । त्यसैले अबको अर्को प्रमुख चुनौती भनेको गगन थापामाथि गरिने चौतर्फी राजनीतिक घेराबन्दी र प्रहार हो । उनी हाल प्रमुख प्रतिपक्ष दलका नेता हुन् र आँखा चिम्म गरेर वर्तमान सरकारलाई मत दिएका मतदाताहरू र आमजनताले यस सरकारको दिक्दारी देखेर अब रोकिएर चासो देखाउन र सुन्न थालेका एक प्रमुख वैकल्पिक पात्र हुन् । भर्खरै मार्केट तताउने करोडका समाचारहरू यस्ता ससाना उदाहरण हुन् तर आगामी दिनमा थप यस्तै नयाँनयाँ फण्डाहरूको सामना गगन थापा स्वयं र उहाँको नेतृत्वमा रहेको दल कांग्र्रेसले गर्नुपर्नेछ । बाहिरी प्रहार नयाँ होइन तर चुनदेवीतिर बसेर सानेपातिर गरिने प्रहार अझ धेरै छ । जसको सामना र राजनीतिक समाधान खोज्नु पनि उहाँको थप जिम्मेवारी हो । तसर्थ उहाँको व्यक्तित्वप्रति प्रश्न उठेका कुराहरू नेपाली राजनीतिमा सामान्य रूपमा लिनुपर्छ तर उत्तिकै सचेत र साबधान पनि रहनु जरुरी छ । ९. सम्भावित प्रधानमन्त्रीका रूपमा आफूलाई तयार गर्नु,पार्टीको नेतृत्व प्राप्त गर्नु एउटा राजनीतिक उपलब्धि हो तर देशको नेतृत्व गर्नसक्ने विश्वास आर्जन गर्नु त्यसभन्दा ठूलो परीक्षा हो । गगन थापाले अब आफूलाई केवल नेपाली कांग्रेसको सभापतिका रूपमा होइन, सम्भावित प्रधानमन्त्रीका रूपमा समेत तयार गर्दै लैजानुपर्छ । गगन थापाको राजनीतिक यात्रालाई अब केवल एउटा कुशल संगठनकर्ताको यात्राका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । उहाँको अगाडिको यात्रा पार्टीको नेतृत्वबाट देशको नेतृत्वसम्म पुग्ने सम्भावना र जिम्मेवारीसँग जोडिएको छ । त्यसका लागि शारीरिक स्वास्थ्य, अनुशासन र काम गर्ने ऊर्जा पनि उत्तिकै आवश्यक हुन्छ, जुन उहाँमा स्पष्ट देख्न सकिन्छ । वैचारिक तथा राजनीतिक तयारीमात्र होइन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, परराष्ट्र नीति, सुशासन र रोजगारीका विषयमा स्पष्ट कार्ययोजना सहितको टिम, राष्ट्रिय दृष्टिकोण, दूरदर्शिता, धैर्य, निर्णय क्षमता र संकट व्यवस्थापन गर्ने मानसिक दृढ संकल्प आवश्यक हुन्छ । त्यसैले अबको उहाँको यात्रा संगठनको कुशल व्यवस्थापनबाट राष्ट्रिय नेतृत्वको परिपक्वता, विचारबाट परिणाम र राजनीतिक लोकप्रियताबाट जनताको जीवनमा अनुभूत हुने परिवर्तनतर्फ केन्द्रित हुनुपर्छ । आमजनताले समकालीन राजनीतिक व्यक्तिहरू मध्ये गगन थापालाई सुन्न, बुझ्न अनि देख्न रुचाउने छन् । निशन्देहः नेपाली राजनीतिमा अब आगामी केही दशक गगनको दशक हो । अब गगन थापाको समय सुरु भएको छ । इतिहासले गगन थापालाई संघर्षका लागि मात्र होइन, जिम्मेवारी निर्वाहका लागि पनि सम्झनेछ । सम्झन चाहेको छ ।
गगन थापा र परिवर्तनको अग्निपरीक्षा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






