काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कटाक्ष गरेका छन् । सिंहले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको नारा दिने नयाँ पार्टीका सभापतिसम्बन्धी १८ करोड रुपैयाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको भन्ने गम्भीर समाचार सञ्चारमाध्यममा आएको भन्दै प्रश्न उठाएका छन् । उनले उक्त समाचार सत्य भए जनताले गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन् । आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामा पैसाको प्रभाव पार्न खोज्ने व्यक्तिले सत्तामा पुगेपछि के गर्ला भन्दै उनले प्रश्न गरेका छन् । सिंहले यसअघि पनि आफूले यस्तो विषय उठाउँदै आएको उल्लेख गर्दै ‘२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन’ भनेका छन् । सुशासनको नारा दिएर जनतालाई भ्रममा पार्ने तर पर्दापछाडि शक्ति, पैसा र बिचौलियाको खेल खेल्नेहरूबाट देशको भविष्य सुरक्षित हुन नसक्ने उनको टिप्पणी छ । उनले सञ्चारमाध्यममा आएका समाचार सत्य भए दोषीमाथि कानुनअनुसार कठोर कारबाही गर्न र असत्य भए तथ्यसहित जनतालाई स्पष्ट पार्न माग गरेका छन् । ‘जनतालाई अब भाषण होइन, हिसाब चाहिएको छ,’ सिंहले भनेका छन् । आज मात्रै थापाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अहिले ठीक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
गगनलाई अमरेश सिंहको जवाफ- २.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






