काठमाडाैं । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लिआन्द्रो परेडेस उपाधि जितेको खुसी मनाउँदै गर्दा अन्तर्वार्ताकै क्रममा बेहोस भएर ढलेका छन् । बोका जुनियर्सले एट्लेटिको मिनेरोलाई २–० गोलले हराउँदै कोपा सुदामेरिकानाको उपाधि जितेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइरहेका बेला उनी अचानक ढलेका हुन् । रिपोर्टअनुसार अत्यधिक गर्मी र उच्च आर्द्रताका कारण परेडेसलाई चक्कर आएको थियो । कोलम्बियाको बारान्कियामा भएको फाइनलका क्रममा तापक्रम ३० डिग्री सेल्सियस र आर्द्रता ८० प्रतिशतसम्म पुगेको थियो । गर्मीका कारण असहज भएपछि बोका जुनियर्सका कप्तान परेडेसलाई खेलको ५८औँ मिनेटमै मैदानबाट बाहिर निकालिएको थियो । टोलीका प्रशिक्षकले पनि पहिलो हाफमै उनलाई चक्कर लागेको र दोस्रो हाफमा थप असहज भएपछि आफैँले प्रतिस्थापन गर्न आग्रह गरेको बताएका छन् । ट्रफी वितरण र खुसीयालीका क्रममा पनि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । ‘डीस्पोर्ट्स’सँगको अन्तर्वार्तामा सहकर्मीसँग उपाधिको खुसी साट्ने र सबैप्रति आभार व्यक्त गर्ने बताइरहेकै बेला उनी अचानक बेहोस भएर ढले । त्यसपछि मेडिकल टोलीले तत्काल उनलाई उपचारका लागि ड्रेसिङ रुम पुर्याएको थियो । केही समयमै होसमा फर्किए पनि थप परीक्षणका लागि उनलाई अस्पताल लगिएको बताइएको छ ।
खुसी मनाउँदै गर्दा अर्जेन्टिनी स्टार अन्तर्वार्तामै ढलेपछि…

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






