काठमाडौं । भारतको कोलकत्ताबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ। उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर हवाइमार्गबाट काठमाडौं ल्याइएको स्रोतले जनाएको छ। काठमाडौंस्थित विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगिएको थियो। सिआइबीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया अघि बढाएको छ। त्यसका लागि उनलाई काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिएको छ। मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन्। श्रमसचिव रहेका बेला मलेसिया जाने कामदारबाट गैरकानुनी रूपमा रकम उठाइएको प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेको छ। यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
कोलकत्ताबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






