Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह- ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह- ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’
Photo / Coverage: पर्दाफास

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए । “प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन”, उनले भने, “प्रत्येक देशको आफ्नै धारणा र आवाज छ । प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउन कठिन भए पनि त्यो अत्यन्तै महत्त्वपूर्ण काम हो ।” सम्मेलनमा करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उनले दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा शीघ्र छलफल अघि बढाउन र रणनीतिक रूपमा वार्ता लम्ब्याउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे । विश्वव्यापी तापक्रम वृद्धिबाट सिर्जित आर्थिक भार र ऊर्जा बजारको अस्थिरताका कारण देशहरू जलवायु परिवर्तनका विषयमा थप केन्द्रित हुँदै गएको उनको भनाइ थियो । नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुरक्षित र किफायती ऊर्जाको महत्त्वपूर्ण आधार बन्दै गएको उनले उल्लेख गरे । विद्युतीकरण र जलवायु वित्तमा पहुँचलगायतका विषय वार्ताको प्राथमिकतामा रहेको बताउँदै उनले स्वच्छ ऊर्जा, सुदृढ पूर्वाधार, स्वच्छ उद्योग तथा विपद्बाट नागरिकको सुरक्षा जलवायु कार्यका महत्त्वपूर्ण क्षेत्र भएको बताए । जलवायु संकटको तत्काल समाधान सम्भव नभएको र एउटा सम्मेलनले मात्रै संकट अन्त्य गर्न नसक्ने उल्लेख गर्दै उनले प्रत्येक सम्मेलनले ठोस प्रगति हासिल गर्नुपर्नेमा जोड दिए । जलवायु कार्यलाई सफल बनाउन अर्बौं मानिसलाई यस अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो । यसका लागि जलवायु परिवर्तनका प्रभाव र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य, रोजगारी तथा सुलभ र भरपर्दो ऊर्जाको आवश्यकतासँग जोड्नुपर्ने उनले उल्लेख गरे । यस क्रममा उनले खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन तथा कलालाई जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरे। खेलकुद मानिसको परिवार, समुदाय र पहिचानसँग जोडिएको विषय भएकाले यसमार्फत जलवायु परिवर्तनको प्रभाव आमनागरिकसम्म पुर्‍याउन सकिने उनको भनाइ थियो । विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीका कारण खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित भएको तथा दर्शक अस्पताल भर्ना हुनुपरेको उदाहरण दिँदै उनले खेलकुद क्षेत्रलाई जलवायु परिवर्तनअनुकूल बनाउन आवश्यक रहेको बताए। पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले विश्वकप फुटबलका क्रममा जलवायु परिवर्तनका प्रभावबारे दर्शकलाई जानकारी गराउन सञ्चारमाध्यमले गरेको प्रयासबारे अनुभव सुनाए। उनले विश्वकपका खेलमा राखिएका पानी पिउने विश्रामका समयमा अत्यधिक गर्मी र उच्च आर्द्रताले खेलाडीको स्वास्थ्यमा पार्ने असरबारे चिकित्सक, खेलाडी तथा रेफ्रीसँग अन्तर्वार्ता गरी दर्शकलाई जानकारी गराएको बताए। विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उहाँले खेलका क्रममा पानी पिउने विश्रामलाई जलवायु विज्ञानसम्बन्धी जानकारी प्रवाह गर्ने अवसरका रूपमा उपयोग गरिएको बताए। टेलिमुन्डोले त्यस्ता विश्रामका बेला विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको तथा शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य दर्शकलाई देखाएको जानकारी दिए। जलवायु परिवर्तनको प्रभावसँगै त्यसका कारण र जिम्मेवारीका विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिँदै उनले मानिसको रुचि र चासो भएका क्षेत्रबाट जलवायु सञ्चारलाई अघि बढाउनुपर्ने बताए। त्यसैगरी, भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने बताए । भारतमा हरेक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उनले चलचित्र उद्योग जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए । पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको जानकारी दिँदै उनले कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएकामा ६५ जना छनोट भएको बताए । लेखकलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी तथा विज्ञानमा आधारित काल्पनिक कथालगायत लोकप्रिय विधामार्फत जलवायु विषय समेट्न प्रोत्साहित गरिएको उनले जानकारी दिए । भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा हाल १७० चलचित्र स्टुडियो सहभागी भएको र तिनको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका तयार गरिएको उनले जानकारी दिए । उक्त निर्देशिकाले चलचित्र निर्माणका क्रममा उत्सर्जन घटाउन र वातावरणमैत्री उत्पादन अभ्यास अपनाउन सहयोग गर्ने उनको भनाइ थियो । चलचित्रमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई स्वच्छ र कम उत्सर्जनयुक्त बनाउन आवश्यक रहेको उनले बताए । स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई एकसाथ अघि बढाउन सके चलचित्र तथा मनोरञ्जन क्षेत्रले जलवायु कार्यका लागि नागरिकलाई प्रेरित गर्न सक्ने उनको विश्वास थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राजर्षि जनक विश्वविद्यालय : शैक्षिक कार्यक्रम विस्तार, ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य
OthersJust now

राजर्षि जनक विश्वविद्यालय : शैक्षिक कार्यक्रम विस्तार, ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्याम नारायण लाभ र रजिस्ट्रार डा. जीवन काफ्लेले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् । ...

अनलाइन खबर
कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल
OthersJust now

कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल

३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला सचिवमा जगन्नाथ दङ्गाल सहित २९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । ...

अनलाइन खबर
किसानको बाली जोगाउन प्रहरी खेतमा
OthersJust now

किसानको बाली जोगाउन प्रहरी खेतमा

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो । यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको ...

पर्दाफास
छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु
OthersJust now

छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद मृत्यु भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play