एजेन्सी । ऊर्जा सुरक्षामा असर पर्न नदिन मलेसियाले जीवाश्म इन्धनको प्रयोग एकैपटक बन्द नगरी क्रमिक रूपमा घटाउँदै स्वच्छ ऊर्जातर्फ अघि बढ्ने भएको छ । मलेसियाका प्राकृतिक स्रोत तथा वातावरणीय दिगोपनमन्त्री आर्थर जोसेफ कुरुपले बिहीबार संसद्मा बोल्दै कोइला, पेट्रोलियम इन्धन र प्राकृतिक ग्यासको प्रयोग चरणबद्ध रूपमा अन्त्य गर्ने नीति अपनाइने बताएका छन् उनले जीवाश्म इन्धनको प्रयोग तत्काल रोक्नुपर्ने मागलाई मलेसियाले समर्थन नगर्ने स्पष्ट पारे । देशको ऊर्जा सुरक्षा, आर्थिक अवस्था, क्षमता र विकासको स्तरलाई ध्यानमा राखेर ऊर्जा रूपान्तरण प्रक्रिया अघि बढाइने उनको भनाइ छ । मन्त्री कुरुपका अनुसार ऊर्जा रूपान्तरण न्यायपूर्ण, जिम्मेवार, व्यवस्थित र चरणबद्ध हुनुपर्छ। यस प्रक्रियामा देशको विद्यमान अवस्था र आवश्यकतालाई बेवास्ता गर्न नहुने उनले बताए । यद्यपि मलेसिया सन् २०५० सम्म वा सम्भव भए त्यसअघि नै हरितगृह ग्यासको खुद उत्सर्जन शून्यमा पुर्याउने लक्ष्यप्रति प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । उनले स्वच्छ ऊर्जा क्षेत्रमा नयाँ लगानीका अवसर खोज्ने र अन्तर्राष्ट्रिय स्तरमा रणनीतिक सहकार्य विस्तार गर्ने क्रममा मलेसियाले लाभ प्राप्त गरिरहेको पनि बताए । यसअघि सन् २०२६ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा युरोपेली तथा विकासशील देशसहित करिब एक दर्जन राष्ट्रले जीवाश्म इन्धनको प्रयोगबाट स्वच्छ ऊर्जातर्फको रूपान्तरण प्रक्रिया तीव्र बनाउन आह्वान गरेका थिए । गत आइतबार सम्पन्न उक्त सम्मेलनमा भने जीवाश्म इन्धनको प्रयोग, जलवायु वित्त, वैज्ञानिक विषय तथा वायुमण्डलबाट कार्बन हटाउने प्रविधिबारे सदस्य राष्ट्रहरूबीच सहमति जुट्न सकेन । प्रस्तावित ‘अन्टाल्या सम्झौता’ अन्तर्गत यी विषयमा सहमति कायम गर्ने प्रयास भए पनि वार्ता निष्कर्षमा पुग्न नसकेको सिन्ह्वाले जनाएको छ । मलेसियाले भने ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्दै परम्परागत इन्धनको निर्भरता क्रमशः घटाउने र स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने नीति अघि सारेको छ ।
कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी

Read Complete Original Article
Published originally on विश्वखबर






