Reuters नेपाली बजारमा शुक्रवार पहेँलो धातु सुनको भाउ प्रतितोला साढे १२ हजार रुपैयाँले घटेर कारोबार भयो।नेपाल सुनचाँदी व्यवासायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले तिहारपछि सुनको मूल्य एकै दिन ह्वात्तै घटेको हो।खास गरी साना लगानीकर्ता वा साधारण निक्षेपकर्ताहरूले सुनमा लगानी गर्ने भए थोरै गर्दा हुने उनको भनाइ छ। सुनको मूल्य बढेको बढ्यै, मानिसहरू यो धातुप्रति किन हुरुक्क हुन्छन्सुन अहिलेसम्मकै महँगो, आर्थिक अनिश्चितता बढ्दा सुनमा लगानी बढ्यो तर सुरक्षित लगानीका रूपमा हेरिने भए पनि अहिलेको अनिश्चित समयमा त्यस्ता लगानीकर्ताले सुनको सट्टा ब्याङ्कमै निक्षेप गर्दा उपयुक्त हुने नेपाल राष्ट्र ब्याङ्कका एक भूतपूर्व कार्यकारी निर्देशकको सुझाव छ।अमेरिकासहित केही ठूला देशहरूले लिने नीति र सुन सञ्चितिसम्बन्धी तिनीहरूका केन्द्रीय ब्याङ्कहरूको दृष्टिकोणले आउँदा दिनमा सुनको मूल्य निर्धारण हुने नरबहादुर थापाले बताए।किन ह्वात्तै घट्यो? Getty Images जानकारहरूका अनुसार मुद्रास्फीति, मुद्राको भाउ र विश्वव्यापी मागले सुनको मूल्य प्रभावित हुन्छ।हालै सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले धक्का बेहोर्नु र डेमोक्र्याटहरूले राम्रो गर्नुले विश्वभरि त्यसको असर देखिन थालेको बताइन्छ।"अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ल्याएको नतिजापश्चात् शेअर बजार उकालो लाग्यो। शेअरको भाउ बढ्दा सुनको मूल्य घट्ने गर्छ," महासङ्घका वरिष्ठ उपाध्यक्ष शाक्यले बीबीसी न्यूज नेपालीसँग भने।अन्तर्राष्ट्रिय बजारमा आउँदा तीनचार महिनासम्म सुनको मूल्य बढ्न नसक्ने चर्चा सुरु भएको उनले सुनाए।"तत्काल सुनको भाउ बढ्ने सम्भावना कमजस्तो देखिन्छ। हुन त यकिनका साथ यही भन्न गाह्रो छ, तर अहिले अवस्था तीनचार महिना लम्बिने सम्भावना छ," शाक्यले अगाडि थपे।यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा दिनमा लिने नीति कस्तो हुन्छ भन्ने कुराले पनि धेरै अर्थ राख्ने उनको तर्क छ। सुनमा किन लगानीकर्ताहरू आकर्षित भइरहेका छन्, महँगो मूल्य अझै बढ्ला कि घट्ला?सुन किन्दा वा बेच्दा तपाईँले थाहा पाउनुपर्ने नौ कुरा केन्द्रीय ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापा पनि सुनको मूल्यलाई निर्धारण गर्ने विभिन्न पक्षहरू रहेको बताउँछन्।"विश्व बजार अनि विश्व अर्थतन्त्र कस्तो हुन्छ, त्यसमा सुनको मूल्य निर्भर गर्छ। विदेशी मुद्राको विनिमय दर, ब्याजदर, मुद्रास्फीति र सुन सञ्चितिप्रति कतिपय प्रमुख केन्द्रीय ब्याङ्कहरूको दृष्टिकोण के हुन्छ त्यसमा निर्भर हुन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।इरान युद्धको सन्दर्भमा के हुन्छ र रुस-युक्रेन युद्धबारे के हुन्छ भन्ने कुराले पनि अन्तर्राष्ट्रिय बजारको अवस्था निर्धारण गर्ने थापा बताउँछन्।हालसम्म इरान युद्ध रोकिएको घोषणा भएको छैन भने युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गराउने अमेरिकी प्रयासले पनि सफलता पाउन सकेको छैन। साना लगानीकर्ताले के गर्ने?सुनमा कसले लगानी गर्न चाहेको हो भन्ने कुराले पनि अर्थ राख्ने जानकारहरू बताउँछन्। खास गरी साधारण मानिसहरूले लगानी गर्दा विशेष ध्यान दिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन्।उनका अनुसार साधारण मानिसहरूले अहिले लगानी गर्ने हो भने थोरैथोरै गर्दा उपयुक्त हुन सक्छ।"उदाहरणका लागि, एक लाख रुपैयाँ सुनमा लगानी गर्ने विचार छ भने २५/२५ हजार रुपैयाँ गरेर चार पटक लगानी गर्नुहोस्। त्यसरी सुन किन्दा मूल्य घटबढ भएमा धेरै फाइदा पनि हुँदैन र धेरै घाटा पनि हुँदैन," बीबीसी न्यूज नेपालीसँग शाक्यले भने।उनका अनुसार सामान्य मानिसहरूले किस्ताकिस्तामा सुन किन्दा घाटा हुने सम्भावना कम हुन्छ।"सुनमा लगानी नै गर्ने हो भने अल्पकालीन लगानी राम्रो हुन्न। दीर्घकालीन हो भने लगानी गर्दा हुन्छ। तर एकैचोटि बढी किन्नुभएन," शाक्यको सुझाव छ। FNGSGJA उपयुक्त समय छ?नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक थापा साना लगानीकर्ता अथवा साधारण निक्षेपकर्ताका निम्ति सुनमा लगानी गर्ने अहिले समय नभएको बताउँछन्।अहिले विश्व अर्थतन्त्र अनिश्चितताको भुमरीमा रहेकोले के हुन्छ भनी किटेर भन्न सक्ने स्थिति नरहेको उनको तर्क छ।"तर सुनमा लगानी गर्नका लागि अहिले उचित समय छैन जस्तो मलाई लाग्छ," थापाले भने।हाल ब्याङ्कहरूले मूल्यवृद्धिअनुसार ब्याज नदिए पनि साधारण निक्षेपकर्ताले ब्याङ्कमै पैसा राख्नु मुनासिब हुने उनको सुझाव छ।"ब्याङ्कमा राख्दा त्यो सुरक्षित रहला, तर सुनको मूल्यमा गिरावट आउँदा ठूलो नोक्सानीमा पर्न सक्ने हुन्छ। सम्पत्ति बढाउने उद्देश्यले लगानी गर्ने सामान्य लगानीकर्तालाई जोखिम छ," थापाले औँल्याए।"साधारण निक्षेपकर्ता अथवा साधारण घरपरिवारले लगानी गर्दा हुन सक्ने जोखिमको व्यवस्थापन गरेका हुँदैनन्। ठूला लगानीकर्ताले वैकल्पिक व्यवस्था पनि गरेका हुन्छ्न। जोखिम न्यूनीकरणको वैकल्पिक व्यवस्था नगरेको हुँदा थोरै ब्याज भए पनि साधारण लगानीकर्ताहरूले ब्याङ्कमै राख्दा उपयुक्त हुन्छ ताकि उनीहरूले धेरै घाटा बेहोर्न नपरोस्," उनले अगाडि थपे। FNGSGJA 'तिहारमा बिक्री बढ्यो'यसपालि तिहारमा गत वर्षको भन्दा सुनको बिक्री बढेको व्यवसायीहरूले बताएका छन्।तुलनात्मक रूपमा सुनको मूल्य घट्दा अघिल्लो वर्षको तुलनामा किनबेचमा फरक फरेको महासङ्घका वरिष्ठ उपाध्यक्ष शाक्यले बताए।"हामीले अनुमान गरेको भन्दा झन्डै दोबर बढी सुन बिक्री भएको छ। यसपालि हामीले २० किलो जति अनुमान गरेका थियौँ, तर ३५ किलो नाघेको देखिन्छ," उनले भने। यद्यपि यो अनौपचारिक तथ्याङ्क भएको उनले स्पष्ट पारे।"यसको मुख्य कारण सुनको मूल्य नै हो जस्तो लाग्छ। पोहोर प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि थियो। यसपालि तिहारको बेला प्रतितोला २ लाख ७२ हजारमा बिक्री भयो," शाक्यले जानकारी दिए। खास गरी नेपालमा सुनको भन्सार दर बढेयता बिक्री घट्न थालेको उनको दाबी छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
के सुनको भाउ अझै घट्ला, लगानी गर्ने यो उपयुक्त समय हो कि होइन?

Read Complete Original Article
Published originally on बीबीसी नेपाली




_ny6gEZPI2v.jpg)
