काठमाडौं । एक सय पचास भन्दा बढी चलचित्रको कथा लेखिसकेका तथा ‘सुश्री’,’पंचायत’ लगायतका चलचित्र निर्देशन गरिसकेका शिवम अधिकारी पछिल्लो समय आफ्नै कथामा आफैं निर्देशन गर्ने तयारीमा जुटेका छन्। तर, उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको विषयवस्तु, विधा र कलाकारबारे भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। शिवम अधिकारी पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत ‘केही नयाँ गर्दैछु’ भन्ने आशयका पोस्टहरू निरन्तर सार्वजनिक गरिरहेका छन्। उनका पोस्टहरूमा गायक तथा बालकलाकार अशोक दर्जीलाई समेत बारम्बार ट्याग गरिएको देखिन्छ। यसले कतै शिवमले अशोक दर्जीलाई लिएर नयाँ चलचित्र निर्माणको तयारी गरिरहेका त छैनन् भन्ने जिज्ञासा बढाएको छ। शिवम अधिकारीकै लेखन रहेको चलचित्र ‘मन बिनाको धन’ बाट अशोक दर्जीले पहिलो पटक ठूलो पर्दामा अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ मा पनि अशोक प्रमुख भूमिकामा देखिएका थिए। यी दुवै चलचित्रमा अशोकलाई जोड्ने काम शिवम अधिकारीकै लेखनले गरेको थियो। अर्कोतर्फ, शिवम अधिकारीले अभिनेत्री पूजा शर्मासँगको तस्बिर सार्वजनिक गर्दै ‘बाँकी कथा मंसिर ५ गतेदेखि’ भन्ने आशयको सन्देश दिएका थिए। यसैबीच निर्मात्री मिनु शर्माले पनि पूजा शर्मालाई चलचित्रका लागि सम्झौता गरिएको तस्बिर सार्वजनिक गरेकी थिइन्। यसले शिवमको नयाँ चलचित्रमा पूजा शर्माको संलग्नता रहने संकेत गरेको छ। अब प्रश्न उठेको छ – शिवम अधिकारीको नयाँ चलचित्रमा पूजा शर्मा र अशोक दर्जी दुवै रहने हुन् कि अशोकलाई लिएर छुट्टै चलचित्रको तयारी भइरहेको छ ? अहिलेसम्म यस विषयमा शिवम अधिकारीले कुनै स्पष्ट जानकारी दिएका छैनन्। तर, उनका पछिल्ला सामाजिक सञ्जालका गतिविधि र अशोक दर्जीसँगको निरन्तरको ट्यागले नयाँ चलचित्रप्रति कौतूहल भने बढाएको छ। केही नयाँ र फरक गर्ने तयारीमा रहेका शिवम अधिकारीले यसपटक दर्शकका लागि कस्तो कथा र कस्ता कलाकार पर्दामा ल्याउँदैछन् ? त्यसका लागि मंसिर ५ गतेसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
के शिवम अधिकारी अशोक दर्जीलाई लिएर नयाँ चलचित्र बनाउँदैछन् ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






