काठमाडौं । कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु गरेको छ । महानगरपालिका–१०, नयाँवानेश्वरस्थित छक्कुबक्कु टोलबाट अभियानको शुभारम्भ गरिएको हो । कुकुर तिहारमा एक दिन फूलमाला लगाएर सम्मान गर्ने परम्परालाई वर्षभरि नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान सुरु गरिएको फाउण्डेशनले जनाएको छ । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण, मानव र जनावरबीचको सहअस्तित्व प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । गोल्याण फाउण्डेशनका अनुसार प्रारम्भिक चरणमा तीन महिनाको पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन हुनेछ ।अभियानअन्तर्गत सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र तिनीहरुको स्वास्थ्य र संरक्षणबारे जनचेतना अभिवृद्धि गरिनेछ । साथै, यस पाइलट परियोजना अवधिभर सामुदायिक कुकुरहरूको वास्तविक तथ्याङ्क, तिनीहरूको स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिता परीक्षण गरी अध्ययन गरिनेछ। यसरी प्राप्त तथ्याङ्कका आधारमा भविष्यमा यस्ता अभियानलाई दीगो र वैज्ञानिक बनाउने ठोस ढाँचा तयार गरिने फाउण्डेशनले जनाएको छ। अभियानको शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले मान्छेको असल साथी र समुदायको सुरक्षा पहरेदार रहेको कुकुरप्रतिको सम्मानमा मानवीयता झल्किएको बताइन् । `यो अभियान सुरू गरेर गोल्याण फाउण्डेशनले पशुप्रति उच्च मानवता प्रकट गरेको छ, सामुदायिक कुकुरको सम्मानले समुदायलाई समेत जिम्मेवार बनाएको छ,´ उनले भनिन् । गोल्याण ग्रुप तथा गोल्याण फाउण्डेशनका अध्यक्ष अक्षय गोल्याणले समुदायको असल साथी र बफादार सुरक्षापालक कुकुरको सुरक्षा र सम्मानमा अभियानले टेवा पुर्याउने बताए । `सम्मान गर्नलायक भएरै वर्षमा एक दिन कुकुरको पूजा गर्ने सांस्कृतिक परम्परा रहेको छ, यस्तो सम्मान र माया एक दिनमात्र होइन हरेक दिन गर्नुपर्छ भनेर अभियान थालिएको हो,´ उनले भने । गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक तथा सार्वजनिक क्षेत्रमा आश्रित कुकुरको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन अभियानले भूमिका खेल्ने बताइन् । तीनमहिने पाइलट परियोजनाबाट प्राप्त अनुभव र उपलब्धिका आधारमा आगामी दिनमा अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ । यो सहर-सडकमा सबैको उत्तिकै आफ्नोपन छ, जुन वास्तविकतालाई हामीले आत्मसात गर्नुपर्दछ,´ उनले भनिन्, गोल्याण फाउण्डेशनले सुरू गरेको अभियानले यही भावना बोकेको छ ।´ गैह्रेले पशुप्रेमी नभएका वा कुकुरसँग डराउने नागरिकहरूलाई समेत सकारात्मक अपिल गर्दै थपिन्, `सबैले कुकुरलाई माया गर्नैपर्छ भन्ने छैन, तर कम्तीमा ढुंगा नहान्न, दुर्व्यवहार नगर्न र खुवाउने स्वयंसेवकहरूलाई अवरोध नगर्न हामी सम्पूर्ण समुदायसँग आग्रह गर्दछौँ।´ फाउण्डेशनले यस अभियानमा काठमाडौं महानगरपालिका र वडा नं. १० कार्यालयसँग समन्वय गरेको छ । अभियान सञ्चालनको लागि फाउण्डेशनका आफ्नै समर्पित स्वयंसेवक तथा साझेदारहरू खटिनेछन् । स्वयंसेवकहरूले आफ्नो तोकिएको क्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक एक छाक भात–मासुसहितको पोषिलो खानेकुरा दिनेछन् । त्यसैगरी भेटेरिनरी टोली र विशेषज्ञहरूबाट नियमित स्वास्थ्य परीक्षण र आवश्यकताअनुसार खोप लगाइनेछ । फाउण्डेशनले वडा नम्बर १० क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक कुकुरहरुलाई रेबिज, डिस्टेम्पर र क्यानिन केरेना भाइरस खोप लगाउने जिम्मेवारी लिएको छ । महानगरको समन्वयमा खोप अभियान सुरू गरिनेछ । यसका अतिरिक्त कुकुरहरूको नियमित स्वास्थ्य परीक्षणसमेत गरिनेछ । जुका, लुतो, एलर्जीजस्ता रोगको पहिचान गरि उपचार पनि गरिने फाउण्डेशनले जनाएको छ । अभियानमा समेटिएका र खोप लगाएका सामुदायिक कुकुरलाई पहिचान सङ्केत (रिफ्ल्याक्टिङ कलर) प्रदान गरिने छ । यसले रातिको समयमा पनि कुकुरलाई देख्न सकिने हुँदा सडक दुर्घटनाको जोखिम पनि घट्ने विश्वास लिइएको छ । पहिचान सङ्केतको आधारमा कार्यक्षेत्रमा रहेका कुकुरको संख्या गणना, खाना तथा खोपको व्यवस्थापन, सुरक्षा सतर्कतामा सहज हुने गोल्याण फाउण्डेशनले जनाएको छ । गोल्याण ग्रुप र गोल्याण फाउण्डेशन सामाजिक कल्याण र सामुदायिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि फाउण्डेशनले नुवाकोटको बिदुरस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा अस्थायी आश्रय केन्द्र सञ्चालन गरी विस्थापित परिवारहरूलाई आश्रय, खाना, राहत सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराएको थियो। त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवारका बालबालिकाको शिक्षा र ज्येष्ठ सदस्यहरूको स्वास्थ्य उपचारमा सहयोग गरिँदै आएको छ।
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






