काठमाडौं। कास्कीका दुग्ध किसानहरूले दूधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपैयाँ कायम गर्न माग गरेका छन्। उत्पादन लागत निरन्तर बढे पनि विगत ३ वर्षदेखि किसानले पाउने दूधको मूल्य ६५ रुपैयाँमा सीमित रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। सप्तगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष नवराज बरालका अनुसार सरकारले तोकेको ६५ रुपैयाँ मूल्यमा किसानले आफ्नो श्रमको उचित प्रतिफल पाउन सकेका छैनन्। बजारमा उपभोक्ताले दूधका लागि १२० देखि १४० रुपैयाँसम्म तिर्नुपरे पनि किसानले भने नाममात्रको मूल्य पाउने गरेका छन्। दाना, चोकर, औषधि र ढुवानी खर्च बढेपछि धेरै किसानले पशुपालन छोड्न थालेका छन्। किसानहरूले देशभर एउटै मूल्य तोक्ने सरकारी नीति अव्यावहारिक भएको भन्दै वैज्ञानिक आधारमा मूल्य समायोजन गर्न माग गरेका छन्। केन्द्रीय दुग्ध सहकारी संघको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरूले मंसिर १६ गतेभित्र माग पूरा नभए गोबर बोकेर सरकारी कार्यालयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बरालले भने, ‘किसानले आफ्नो श्रम र पसिनाको उचित मूल्य मागेका हुन्। भोलि दूध होइन, दूध बोक्ने ठेकीमा गोबर लिएर हँसिया, नाम्लो र परालका भारीसहित सरकारी कार्यालयमा धर्ना बस्न बाध्य हुनेछौं।’ जिल्ला सहकारी संघका अनुसार कास्कीमा करिब ११ हजार ५ सय घरपरिवार दुग्ध व्यवसायमा संलग्न छन्। केही समयअघिसम्म दैनिक १ लाख लिटरसम्म उत्पादन हुने गरेकोमा हाल घटेर ६० देखि ७० हजार लिटरमा सीमित भएको छ। किसानहरूले दूधको भुक्तानी समयमै हुनुपर्ने, पशु स्वास्थ्य सेवा, निःशुल्क कृत्रिम गर्भाधान र पशुआहारमा सहुलियतको समेत माग गरेका छन्।
कास्कीका किसानको माग: दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर

Read Complete Original Article
Published originally on नेपालन्युज





![बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/dullu-11-27112026042828-watermarked.jpg)
