काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुल्ला गर्ने विषयलाई अगाडि बढाएको छ । बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । सङ्घीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले चौबिसै घण्टा ९२४ घण्टा० सञ्चालन गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी तीव्र पारेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीका सबै बजार तथा व्यापारिक क्षेत्रलाई रातदिन सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि रणनीतिक रूपमा काम भइरहेको छ । सूचनाअनुसार काठमाडौं देशकै अत्यन्त महत्त्वपूर्ण प्रशासनिक, व्यापारिक तथा पर्यटकीय केन्द्र भएकाले जिल्लाभर रात्रिकालीन गतिविधि सञ्चालन गर्न आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध मिलाउने काम सुरु भएको हो । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खिमराज भुसालले कहिलेदेखि काठमाडौंलाई चौबिसै घण्टा खुल्ला गर्ने निश्चित भइसकेको छैन तर यसका लागि सरोकारवालाहरूसँग छलफल भइरहेको बताए । उनले भने, ‘रातीसमेत खुल्ला गर्ने भएपछि सुरक्षाको विषय महत्त्वपूर्ण हुन्छ, त्यसैले सुरक्षा निकायसँग छलफल भइरहेको छ । उज्यालोका लागि नेपाल विद्युत प्राधिकरणसँग, उद्योगी व्यवसायी तथा यातायात व्यवसायीसँग चरणबद्ध रूपमा छलफल भइरहेको छ । यसभन्दा अगाडि ठमेल र दरबारमार्गमा सुरु भएको अवस्था छ र अब सबै क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्ने उद्देश्य रहेको छ । जति सक्दो छिटो यो व्यवस्था लागु हुन्छ ।’ सरोकारवाला निकायसँग समन्वय गरिने यस अभियानलाई सफल र व्यावहारिक बनाउनका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, विभिन्न सरकारी निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल अघि बढाउने जनाएको छ। आवश्यक पूर्वाधार र सुरक्षाको पूर्ण प्रत्याभूति भएपछि मात्र जिल्लाभरका बजार र व्यापारिक क्षेत्र चौबिसै घण्टा खुला गर्ने औपचारिक निर्णय लिइने जनाइएको छ । यसअघि २०८१ वैशाख १ गतेदेखि काठमाडौंका प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गरिसकिएको छ। ती दुई क्षेत्रबाहेक काठमाडौंका अन्य स्थानका व्यवसायीहरूले अर्को सूचना जारी नभएसम्म तोकिएको पुरानै समयतालिकाअनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्नेछ। निर्धारित समयभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न समेत प्रशासनले स्पष्ट निर्देशन दिएको छ। के भन्छन् व्यवसायी यसरी चौबिसै घण्टा बजार खुला गर्नु भनेको सकारात्मक पक्ष भए तापनि सुरक्षालाई भने प्राथमिकतामा राख्नुपर्ने व्यवसायीले बताएका छन् । होटल संघ नेपालका महासचिव साजन शाक्यले काठमाडौंलाई चौबिसै घण्टा खुल्ला गर्ने यो निर्णय स्वागतयोग्य भएको बताए । उनका अनुसार, विदेशबाट आउने पर्यटकहरूले रातीको समयमा आइपुग्दा खान र बस्नको समस्या हुने गरेको छ, यदि चौबिसै घण्टा खुल्यो भने पर्यटकहरूका लागि सहज वातावरण सिर्जना हुन्छ । यसका लागि सरकारले सुरक्षाको व्यवस्था भने राम्रो गर्नुपर्ने कुरामा महासचिव शाक्यले जोड दिए । ‘विदेशमा पनि पर्यटकहरूलाई लक्षित गर्दै मुख्य–मुख्य सहरहरू चौबिसै घण्टा खुलिरहेका हुन्छन् । ठमेल र दरबारमार्ग क्षेत्रमा खुलिरहेको छ, यसको दायरा फराकिलो बनाउँदा व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्न जान्छ । तर जसरी अहिले यी दुई क्षेत्रमा सुरक्षाको व्यवस्था गरिएको छ, त्यसरी नै अन्य स्थानमा पनि सुरक्षाको व्यवस्था गर्नुपर्छ ।’ पूर्वाधार र सुरक्षा व्यवस्थापनमा जोड चौबिसै घण्टा सेवा सञ्चालनका लागि प्रशासनले आधारभूत पूर्वाधार र सुरक्षाको सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । जिल्लाभर रात्रिकालीन सुरक्षा गस्ती र निगरानीलाई प्रभावकारी बनाउने प्रशासनको योजना रहेको छ । आधारभूत सहरी पूर्वाधार जस्तै सडक यातायात, २४ सै घण्टा स्वास्थ्य सेवा, निरन्तर विद्युत् आपूर्ति, भरपर्दो इन्टरनेट सेवा, सीसीटीभी क्यामेरा र पर्याप्त सडक बत्तीको व्यवस्था पनि मिलाइनेछ । चौबिसै घण्टा बजार खुला गर्नका लागि आपूर्ति र बजार व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ । जसअन्तर्गत व्यापार, व्यवसाय र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाइनेछ । सङ्घीय राजधानी २४ सै घण्टा खुला भएसँगै रात्रिकालीन अर्थतन्त्र चलायमान हुने, रोजगारीका नयाँ अवसर सिर्जना हुने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। The post काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग

Read Complete Original Article
Published originally on कर्पोरट खबर






