काठमाडौं । काठमाडौंमा दुईदिने राष्ट्रिय स्तरको र्यापिड बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजना तथा काठमाडौं महानगरपालिका–१६ र काठमाडौं जिल्ला बुद्धिचाल सङ्घको सहआयोजनामा ‘केएसए काठमाडौं–१६ वार्ड कप नेसनल र्यापिड चेस टुर्नामेन्ट २०८३’ हुन लागेको हो । आगामी कात्तिक १७ र १८ गते काठमाडौंको नयाँ बजारस्थित नयाँ बजार मल्टि भेन्यूमा प्रतियोगिता सञ्चालन हुनेछ । फिडेबाट स्वीकृत प्रतियोगितामा कुल २ लाख ५३ हजार रुपैयाँ नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खुला र महिला विधासहित विभिन्न उमेर तथा रेटिङ समूहमा प्रतिस्पर्धा हुनेछ । खुला समूहका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, चौथोले १२ हजार र पाँचौँ हुनेले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैटौँदेखि दसौँ स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् । महिला समूहमा पहिलो हुनेले ७ हजार, दोस्रोले ४ हजार र तेस्रोले ३ हजार रुपैयाँ पाउनेछन् । चौथोदेखि दसौँ स्थानसम्मका खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, काठमाडौं महानगरपालिका–१६ का उत्कृष्ट स्थानीय खेलाडी, महानगरपालिकाभित्रका उत्कृष्ट खेलाडी, ५५ वर्षमाथिका खेलाडी, १८०० र १६०० भन्दा कम रेटिङ भएका खेलाडी तथा अनरेटेड खेलाडीका लागि पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १६, १४, १२ र १० वर्षमुनिका खेलाडीका लागि समेत उमेर समूहगत पुरस्कार राखिएको छ । प्रत्येक उमेर समूहमा प्रथम हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता नौ राउन्ड स्वीस लिग प्रणालीमा फिडे चेस नियमअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेलाडीले १० मिनेट समय र प्रत्येक चालमा थप १० सेकेन्ड प्राप्त गर्नेछन् । कात्तिक १७ गते बिहान ९ बजे प्रतियोगिताको उद्घाटन हुनेछ भने बिहान १०ः३० बजेदेखि खेल सुरु हुनेछन् । दोस्रो दिन बिहान १० बजेदेखि खेल सञ्चालन गरी साँझ ४ः३० बजे समापन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन खुला समूहका खेलाडीले एक हजार रुपैयाँ र महिला तथा १६ वर्षमुनिका खेलाडीले ५०० रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ । काठमाडौं उपत्यकाबाहिरबाट सहभागी हुने खेलाडीका लागि निःशुल्क आवासको व्यवस्था गरिएको छ । प्रतियोगितामा पुरस्कार रकम बाँडफाँट नगरिने र नगद पुरस्कारबाट ५ प्रतिशत कर कट्टी गरिने आयोजकले जनाएको छ । खेल सञ्चालनका क्रममा कुनै पनि इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । प्रतियोगिताका लागि संयोजक अमित तामाङ र मुख्य आर्बिटर एफए हरि कृष्ण श्रेष्ठलाई सम्पर्क गर्न सकिने काठमाडौं स्पोर्ट्स एकेडेमीका अध्यक्ष नारायण दास गमालले जानकारी दिएका छन् ।
काठमाडौंमा राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






