Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत, सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत, सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ। ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन्। सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै द्रुतमार्गको सुरुङ निर्माणले थप गति लिने नेपाली सेनाले अपेक्षा गरेको छ। सेनाका अनुसार द्रुतमार्गमा सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो। महादेवटार सुरुङको ब्रेकथ्रुसँगै आयोजनाको सुरुङ निर्माण कार्यले थप गति पाउने विश्वास गरिएको छ। आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ। उच्च प्रविधियुक्त पुललगायत अन्य संरचना निर्माणको काम पनि जारी छ। यद्यपि, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद भने अझै चुनौतीका रूपमा रहेको छ। उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ। महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। करिब ७३ किलोमिटर लामो आधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको दूरी तथा यात्रा समय घट्नुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत कम हुने उनले बताए। द्रुतमार्गले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने राष्ट्रपति पौडेलको भनाइ थियो। यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनले उल्लेख गरे। उनका अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्नेछ। राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रोपटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए। आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए। कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो। नेपाली सेनाले आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो । सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो कार्यकाल बाँकी रहँदै अर्को ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play