पिथौरागढ। भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको ऐतिहासिक जौलजीबी मेलामा माइक बन्द गरिएपछि कांग्रेसका विधायक हरिश सिंह धामीले मञ्चमै हंगामा गरेका छन् । मेला आयोजक समितिको अध्यक्षसमेत रहेका धामीले आफूलाई बोल्न नदिएको भन्दै माइक फ्याँक्नुका साथै कुर्सीसमेत फ्याँकेका हुन् । घटना शनिबारको हो । जौलजीबी मेलामा सहभागी हुन पुगेका उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सम्बोधन तथा विभिन्न घोषणा गरेर कार्यक्रमस्थलबाट बाहिरिएपछि विवाद सुरु भएको थियो । मुख्यमन्त्री बाहिरिएलगत्तै कांग्रेस विधायक हरिश धामी आफ्ना समर्थकसहित मञ्चमा पुगेका थिए । उनले आफू मेला आयोजक समितिको अध्यक्ष भए पनि कार्यक्रममा सम्बोधन गर्न नदिइएको र आफ्नो माइक बन्द गरिएको आरोप लगाएका छन् । बोल्न नदिएको भन्दै आक्रोशित बनेका उनले मञ्चमै माइक फ्याँकेका थिए । त्यसपछि साउन्ड सिस्टममा काम गर्ने कर्मचारीसँग विवाद गर्नुका साथै कार्यक्रमस्थलमा राखिएका प्लास्टिकका कुर्सीसमेत फ्याँकेका थिए । घटनाका क्रममा धामी र उनका समर्थकले नाराबाजी गरेका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरेको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । हंगामाका बीच विधायक धामीले मुख्यमन्त्री पुष्कर सिंह धामीलाई धारचुलाबाट चुनाव लड्न चुनौतीसमेत दिएका छन् । उनले मुख्यमन्त्रीलाई ‘कायर’ भन्दै हिम्मत भए धारचुलाबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् । आफू पार्टीको निर्देशनअनुसार जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार रहेको बताउँदै उनले आगामी निर्वाचनमा जनताले जवाफ दिने दाबी गरेका छन् । सन् २०२७ मा हुने उत्तराखण्ड विधानसभा निर्वाचनलाई लक्षित गर्दै उनले मुख्यमन्त्रीलाई सीधा चुनौती दिएका हुन् । यस घटनापछि भारतीय जनता पार्टी (भाजपा) ले पनि प्रतिक्रिया दिएको छ । भाजपाले चुनावमा हार्ने डरले कांग्रेस विधायकले यस्तो हंगामा गरेको टिप्पणी गरेको छ ।
कांग्रेस विधायकले मञ्चबाटै माइक र कुर्सी फ्याँकेपछि…

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






