काठमाडौं । नेपाली कांग्रेसले खुलामञ्चमा क्षति पुगेको दुबोको स्थानमा नयाँ दुबो रोप्न सुरु गरेको छ। आइतबार बिहान कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरू खुलामञ्च पुगेर दुबो रोपेका हुन्। दुबो रोप्ने कार्यक्रममा कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने कार्यक्रम छ। गत असोजमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्चको दुबोमा क्षति पुगेपछि नयाँ दुबो रोप्न लागिएको हो। क्षति भएका स्थानमा दुबो रोप्नुका साथै त्यसको संरक्षण र हुर्काउने व्यवस्था पनि पार्टीले गर्ने जनाएको छ। यससम्बन्धी कामका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्ट्सबीच यसअघि नै सम्झौता भइसकेको छ। सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार दुबो रोप्ने, स्याहार गर्ने र हुर्काउने काम डेढ महिनाभित्र सम्पन्न गरिनेछ। यसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेसले नै व्यहोर्नेछ।
कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो [तस्बिरहरू]
![कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो [तस्बिरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/11/907035422_1115115394729874_2710571662889708868_n.jpg)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






