काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटी र पत्रकार रोशन खड्काबीच सहमति भएको छ । सामाजिक सञ्जालमा आफूविरुद्ध अपमानजनक तथा भ्रामक सामग्री प्रकाशित गरेको भन्दै खड्काले सिवाकोटीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए । उक्त उजुरीका सम्बन्धमा साइबर ब्युरोले आइतबार दुवै जनालाई बोलाएर छलफल गराएको थियो । छलफलका क्रममा सिवाकोटीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको सहभागी एक व्यक्तिले जानकारी दिए । सहमति अनुसार सिवाकोटीले यसअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटस हटाएर सार्वजनिक रूपमै माफी माग्ने भएका छन् । छलफलमा सिवाकोटीले आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस विषयमा कुनै टिप्पणी नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ । ‘यसरी अपमान गर्नु र भ्रामक पोस्ट गर्नु मेरो गल्ती हो । गल्ती स्वीकार्छु र आगामी दिनमा यसबारे कुनै टिप्पणी गर्नेछैन,’ सिवाकोटीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक व्यक्तिले बताए । प्रहरीको पटक–पटकको ताकेतापछि सिवाकोटी आइतबार साइबर ब्युरो पुगेका हुन् । पत्रकार खड्काले सञ्चालन गर्दै आएको अनलाइन सञ्चारमाध्यम काठमाडौं पार्टीमा बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससँग सम्बन्धित समाचार प्रकाशित भएपछि सिवाकोटीले खड्कालाई लक्षित गर्दै व्यक्तिगत आक्षेपसहित सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । त्यसपछि खड्काले सिवाकोटीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ब्युरोले दुवै पक्षलाई बोलाएर छलफल गराएको हो।
कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटी र पत्रकार रोशन खड्काबीच सहमति

Read Complete Original Article
Published originally on नेपालन्युज






