काठमाडौं । जीपी कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को सहयोगमा कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविरमा रोग पहिचान भई थप उपचारका लागि केएमसीमा रिफर गरिएका बिरामीको प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने छ । मंसिर ९ गते जाजरकोटको भेरी नगरपालिका–खलङ्गा बजार, मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा शिविर सञ्चालन हुनेछ। शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ। थप उपचार आवश्यक देखिएका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिनेछ। त्यहाँ प्रत्यारोपण तथा ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने केएमसीले जनाएको छ। थप उपचार तथा शल्यक्रिया निःशुल्क भए पनि औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ। स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने र आवश्यक उपचार सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। यसबाट जटिल रोग लागेका बिरामीले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थासमेत कम हुनेछ। स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षाको विस्तारमा डा. सुनील शर्माको योगदान रहँदै आएको छ। उनको स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन्। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीमध्ये कतिपय चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्स बनेर स्वास्थ्य क्षेत्रमा कार्यरत छन्। सीमान्तकृत सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा यसका उदाहरण हुन्। चिकित्सा शिक्षाको अवसर विस्तार गर्नुका साथै सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउन डा. शर्मा सक्रिय रहँदै आएका छन् । केएमसीले विभिन्न जिल्लामा सञ्चालन गर्दै आएका निःशुल्क स्वास्थ्य शिविर तथा आर्थिक रूपमा कमजोर बिरामीको थप उपचार र शल्यक्रियामा गर्दै आएको सहयोगले स्वास्थ्य सेवालाई गाउँबस्तीसम्म पुर्याउन योगदान दिँदै आएको छ। कर्णालीमा सञ्चालन हुन लागेको शिविर पनि यसैको निरन्तरता हो।
कर्णालीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, रिफर भएका बिरामीको शल्यक्रिया पनि निःशुल्क

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






