काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। यता कर्णालीको भने लगातार दोस्रो जित पछिको यो पहिलो हार हो। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो भने दोस्रो खेलमा विराटनगर किङ्ग्समाथि चार विकेटको जित निकालेको थियो। आज कर्णाली याक्सले जितका लागि दिएको १८१ रनको लक्ष्य पच्छाएको काठमाडौंले १९ दशमलव चार ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। काठमाडौंका लागि राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा सर्वाधिक ५० रन बनाए। उनले तीन चौका र दुई छक्का प्रहार गरे। त्यसै गरी कप्तान करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे। उनले चार चौका र तीन छक्का प्रहार गरे। जाहन्दाद खानले अविजित २२ रन बनाए भने मोहम्मद आदिल आलमले २० रनको योगदान दिए। यता बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलातले समान दुई-दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एक-एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो। कर्णालीका लागि अरिफूल इस्लामले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। त्यस्तै हुसेन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए। गुल्शन झाले २० तथा मार्क वाटले १७ रनको योगदान दिए। काठमाडौंका लागि करण केसीले दुई विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान एक-एक विकेट हात पारे। सोही स्थानमा आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
कर्णालीमाथि काठमाडौंको जित

Read Complete Original Article
Published originally on नेपालन्युज






