काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यसहित सरकारले नीतिगत तथा संस्थागत तयारी थालेको हो। महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोषका लागि विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँमार्फत संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक तथा बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न संघीय सरकारले सह–योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको छ। यसअन्तर्गत स्थानीय तहको सहयोगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि संघीय सरकारले हाललाई एक प्रतिशत बराबरको योगदान रकम जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिएकी छन्। सरकारले सामाजिक सुरक्षाको दायरा थप फराकिलो बनाउने क्रममा प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ। सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै श्रमिकमैत्री सेवा प्रवाहमा जोड दिएको छ। विभिन्न क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्ने आवश्यकता पनि सरकारले औँल्याएको छ। सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व र सुरक्षित भविष्यमा गरिने लगानीका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ। सरकारको यो पहल कार्यान्वयनमा आएमा करार कर्मचारी, अस्थायी शिक्षक, बालविकास सहजकर्ता तथा अनौपचारिक श्रमिकले समेत सामाजिक सुरक्षाको दायराभित्र रहेर भविष्यको आर्थिक सुरक्षा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






